विपत् व्यवस्थापनका लागि संसदीय उच्चस्तरीय समिति गठन गर्न आङदेम्बेको सुझाव

डिसी नेपाल
३० भदौ २०८३ १३:२४

काठमाडौं। नेपाली काङ्ग्रेसका नेता तथा विपक्षी दलका नेता भीष्मराज आङदेम्बेले विपत्तिपछिको राहत, उद्धार तथा पुनर्स्थापनालाई व्यवस्थित र पारदर्शी बनाउन तत्काल संसदीय उच्चस्तरीय समिति गठन गर्न माग गरेका छन्।

मंगलबार सिंहदरबारस्थित सभामुखको कार्यालयमा सभामुख डीपी अर्यालसँगको भेटवार्ताका क्रममा उनले यस्तो सुझाव दिएका हुन्।

भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता आङदेम्बेले सर्वदलीय बैठकमा सहमति भइसकेको विषयलाई कार्यान्वयनमा ल्याउन ढिलाइ गर्न नहुने बताए।

उनले भने, “विपत्तिमा सर्वदलीय ढंगबाट अनुगमन गर्न, पारदर्शिता कायम राख्न र पीडितहरूलाई राज्यको अनुभूति दिलाउन यो समिति अत्यावश्यक छ। यसलाई सरकारको विरोधका रूपमा नभई सहयोगी संयन्त्रका रूपमा हेरिनुपर्छ।”

छलफलका क्रममा उनले एक हप्ता वा बढीमा १० दिनभित्र समिति गठनको प्रक्रिया टुङ्ग्याउन सभामुखको ध्यानाकर्षण गराए।

यस्तै, भेटमा प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमलाई नयाँ परिस्थितिअनुसार पुनः सुरु गर्ने, संयुक्त राष्ट्रसङ्घको महासभामा उठाइने राष्ट्रिय एजेन्डाबारे सर्वदलीय छलफल चलाउने र नेपाली काङ्ग्रेसको आगामी १५औँ महाधिवेशनको कार्यतालिकाबारे समेत सभामुखलाई जानकारी गराइएको थियो।

सञ्चारमाध्यममा आएको ‘द ग्रे जोन’ प्रतिवेदनबारे सोधिएको प्रश्नमा आङदेम्बेले लक्षित व्यक्तिहरूले संसद् वा सम्बन्धित ठाउँमा स्पष्ट र जिम्मेवार उत्तर दिनुपर्ने धारणा राखे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *