विशेष महाधिवेशन पक्षधरले आयोजना गर्ने महाधिवेशनमा सहभागी नहुन देउवाको अपिल
काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको विवाद अन्त्य गर्दै आगामी मंसिर २१, २२ र २३ गते हुने १५औँ महाधिवेशनको तयारीमा जुट्न नेता तथा कार्यकर्तालाई अपिल गरेका छन्। उनले अवैधानिक विशेष महाधिवेशनबाट आएको समूहले आयोजना गर्ने महाधिवेशनमा सहभागी नहुनसमेत आग्रह गरेका छन्।
देउवाले पार्टीको विधि, विधान, पद्धति, परम्परा र केन्द्रीय समितिका निर्णयविपरीत विशेष महाधिवेशन गर्ने समूहले एकपक्षीय रूपमा १५औँ महाधिवेशनको कार्यतालिका अघि बढाउन खोजेको बताएका छन्। लामो समयदेखि पार्टी निर्माणमा योगदान दिएका नेता तथा बहुसंख्यक सदस्यलाई बेवास्ता गरेर अघि बढ्ने प्रयास कांग्रेसको हितमा नहुने उनको भनाइ छ।
विशेष महाधिवेशनको वैधतासम्बन्धी विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा अन्तिम फैसला नआउँदै महाधिवेशनको प्रक्रिया अघि बढाउनु विधि, विधान र कानुनी सिद्धान्तविपरीत हुने देउवाले बताएका छन्। सर्वोच्च अदालतको पूर्ण इजलासले पुनरावलोकनको निस्सा प्रदान गरिसकेको अवस्थामा यस विषयमा गम्भीर संवैधानिक तथा कानुनी प्रश्न रहेको उनको दाबी छ।
देउवाले विशेष महाधिवेशन किन गर्नुपरेको हो भन्ने प्रश्नको जवाफ अझै नेता–कार्यकर्ता र जनताले नपाएको बताएका छन्। अनुभवी नेतृत्वबाट निर्वाचन जित्न नसकिने भन्दै गरिएको प्रचारलाई निर्वाचन परिणामले समेत गलत साबित गरेको उनको दाबी छ। पार्टीभित्र सहमति र सहकार्यबाट समस्या समाधान गर्ने पर्याप्त सम्भावना हुँदाहुँदै बहुसंख्यक नेता तथा कार्यकर्ताको सहभागिताबिना अघि बढ्नु कांग्रेसलाई कमजोर बनाउने गतिविधि भएको उनले बताएका छन्।
आफूलाई कुनै पद वा जिम्मेवारीप्रति लोभ नरहेको उल्लेख गर्दै देउवाले पार्टीले आफ्नो अनुभवको आवश्यकता ठाने जीवनको अन्तिम समयसम्म जिम्मेवारी निर्वाह गर्न तयार रहेको बताएका छन्। १४औँ महाधिवेशनबाट निर्वाचित सभापतिका रूपमा १५औँ महाधिवेशन सम्पन्न गरी पार्टी नेतृत्व हस्तान्तरण गर्नु आफ्नो वैधानिक, राजनीतिक र नैतिक दायित्व भएको उनको भनाइ छ।
उनले पार्टीको विधान र संविधानअनुसार महाधिवेशनका लागि पर्याप्त समय बाँकी रहेको अवस्थामा सहमतिबिना हतारमा अधिवेशन गरेर पार्टीलाई कमजोर वा विभाजित गर्ने प्रयास भए आफू मुकदर्शक भएर बस्न नसक्ने चेतावनी दिएका छन्।
देउवाले कांग्रेसका नेता, कार्यकर्ता, शुभेच्छुक तथा आम नागरिकलाई पार्टीभित्र देखिएको मतभेद अन्त्य गरी एकता, सहमति र सहकार्यका साथ मंसिरमा हुने १५औँ महाधिवेशनको तयारीमा जुट्न आग्रह गरेका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment