श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता
काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका लागि मलेसियाका कार्यवाहक राजदूत मोहम्मद फिरदौस अजमानबीच आज मन्त्रालयमा द्विपक्षीय भेटवार्ता भएको छ।
भेटवार्ताका क्रममा मन्त्री यादवले मलेसियाको एफडब्लुसिएमएसमा नेपालका केही इजाजत पत्र प्राप्त वैदेशिक रोजगार व्यवसायी संस्थालाई मुख्य र सहायक संस्थाका रूपमा सूचीकृत गरिएको विषयप्रति सरकार गम्भीर रहेको जानकारी गराउँदै संस्था सूचीकृत मूल्याङ्कन प्रणाली तथा मापदण्ड नेपाल सरकारलाई आधिकारिक रूपमा उपलब्ध गराउन अनुरोध गरेका छन्।
मन्त्री यादवले वैदेशिक रोजगार व्यवसायमा प्रतिस्पर्धा सङ्कुचित हुने, सीमित संस्था वा समूहको नियन्त्रण कायम हुने कुनै पनि व्यवस्था कानुनी प्रावधानविपरीत र द्विपक्षीय श्रम सम्झौताविपरीत हुने विषय नेपाल सरकारलाई स्वीकार्य नहुने स्पष्ट पारेका छन्। सबै इजाजत पत्र प्राप्त संस्थाका लागि समान अवसर, पारदर्शिता र निष्पक्ष प्रतिस्पर्धा सुनिश्चित हुनुपर्ने स्पष्ट धारणा उनले राखे। साथै केही सूचीकृत इजाजत पत्र प्राप्त संस्थाले आफूहरू एफडब्लुसिएमएस प्रणालीबाट बाहिरिने इच्छा राखेको विषयसमेत जानकारी गराएका छन्।
मन्त्री यादवले यस विषय समाधानका लागि जतिसक्दो चाँडो द्विपक्षीय कूटनीतिक परामर्श र नेपाल सरकारको प्रयासमा सहजीकरण गरी मलेसिया सरकारसँग आवश्यक समन्वयका लागि पहल गर्न पनि महामहिम कार्यवाहक राजदूतलाई अनुरोध गरेका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment