शिक्षामन्त्री पोखरेलसँग बेलायती राजदूत फेनको शिष्टाचार भेट
काठमाडौं। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि बेलायती राजदूत रब फेनबीच मंगलबार शिष्टाचार भेटवार्ता भएको छ।
सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा नेपाल–बेलायतबीच शिक्षा तथा खेलकुद क्षेत्रमा हुँदै आएको सहकार्यलाई थप निरन्तरता दिने विषयमा छलफल भएको थियो। भेटमा दुई देशबीचको ऐतिहासिक सम्बन्ध, आपसी सहयोग र सहकार्यका विषयसमेत उठेका थिए।
मन्त्री पोखरेलले विद्यालय शिक्षाको सुधारका लागि नीतिगत तथा संरचनागत काम अघि बढिरहेको जानकारी दिँदै शिक्षा ऐन निर्माण, राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन, शिक्षकको पेसागत विकास र डिजिटल शिक्षाका क्षेत्रमा मन्त्रालयले काम गरिरहेको बताएका थिए। उनले शिक्षा तथा खेलकुद क्षेत्रमा बेलायतले गर्दै आएको सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा सहकार्य जारी राख्न तयार रहेको बताएका थिए।
बेलायती राजदूत फेनले नेपालको शिक्षा तथा खेलकुद क्षेत्रसँगको सहकार्य बेलायत सरकारका लागि महत्वपूर्ण रहेको बताएका थिए। उनले शिक्षा क्षेत्रमा बेलायतले गर्दै आएको सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका थिए।
भेटमा रसुवा–भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका विद्यालयका शिक्षकको पेसागत विकासका लागि ब्रिटिस काउन्सिलमार्फत सहकार्य गर्ने विषयमा पनि छलफल भएको थियो। जलवायुजन्य विपद्को सामना गरिरहेको अवस्थामा बेलायत सरकार नेपालसँगै रहेको राजदूत फेनले बताएका थिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment