एकै पटक जन्मिएका ४ दिदीबहिनी एकै पटक अन्माइँदै

डिसी नेपाल
२ पुष २०७६ २२:४१

नयाँ दिल्ली (बीबीसी)। भारतको केरलाका चार दिदीबहिनीहरू एकै दिन जन्मिए, पूरै जीवन एउटै छतमुनि बिताए, उस्तै खाना खाए, उस्तै लुगा लगाए र १५ वर्ष नहुँदासम्म विद्यालयमा पनि एउटै लहरमा बस्थे।

अहिले यी चारै दिदीबहिनी विवाह पनि एकै दिन गर्ने तयारीमा छन्। पाँचजना बच्चाहरू एउटै गर्भबाट एकैपटकमा जन्मिएकाले उनीहरू जन्मिएदेखि नै चर्चामा छन्। उनीहरूको एउटा भाइ पनि छ।

स्थानीय सञ्चारमाध्यमले उनीहरूको जन्मेदेखिको समस्याहरूलाई नजिकबाट नियालेका छन् र समाचार बनाएका छन्।

चार दिदीबहिनी उथ्राजा, उथारा, उथामा र उथ्रा र उनीहरूका भाइ उथ्राजन सन् १९९५ को नोभेम्बर १८ तारिखमा जन्मिएका हुन् र उनीहरूले आउँदो वर्ष लगनगाँठो कस्ने योजना बुनेका छन्।

उथारा भन्छिन्, ‘हाम्रो घरमा आजकाल विवाहकै सेरोफेरोमा धेरै कुराकानी हुन्छ। विवाहको दिनका लागि हामीले रेशमको साडी किन्नै बाँकी छ। तर हामी एउटै रङ्ग र डिजाइनको साडी किन्छौँ।’

उथारा पत्रकार हुन् र उनको भविष्यका श्रीमान् पनि पत्रकार नै हुन्। यस क्षेत्रको मान्यता अनुसार यो विवाह परम्परागत हुनेछ। आफ्ना लागि जीवनसाथी आफैँले खोज्नुभन्दा पनि परिवारका ज्येष्ठ सदस्यहरूले खोज्ने गर्छन्।

उनीहरूका लागि चाहिँ आमा रिमादेवीले छोरीहरूलाई केटा छान्न जोडी मिलाइदिने एउटा वेबसाइटको मद्दत लिएकी हुन्। यस्तो विवाहमा धेरैजसो विवाह गर्ने जोडी एउटै जातको, उस्तै आर्थिक र शैक्षिक पृष्ठभूमिको हुन्छ।

ज्योतिषीले पनि दुलाहा र दुलहीको कुण्डली हेरेर उनीहरूको विवाह गरिदिनु ठिक हो कि होइन परिवारलाई भन्छन्। तर यी विवाहहरू दबाब भएका होइनन् किनभने दुलहा र दुलही दुवैले आफ्नो धारणा राख्न पाउँछन्।

उनीहरूको टिकाटालो गर्ने काम गएको सेप्टेम्बरमा भएको थियो। तर चारमध्ये एकजना दुलाहा मध्यपूर्वमा काम गर्ने भएकाले आउन सकेनन्। अनुहार उस्तै नदेखिने यो दिदीबहिनीहरू अब विवाहको सबै पक्ष उस्तै देखियोस् भन्ने प्रयास गर्दैछन्।

यी दिदीबहिनीहरूले जन्मपछि सबै उस्तै परिस्थिति देखेका छन् यद्यपि उनीहरूले एकअर्कासँग प्रतिस्पर्धा गरेकाले उनीहरूको फरक व्यक्तित्व बनेको छ। उथ्राजाले अध्ययनमा आफूलाई उत्कृष्ट बनाएकी छन्।

उथामाले आफ्नो रुचि सङ्गीतमा भएको थाहा पाइन् र भायोलिन सिक्न थालिन्। उनीहरूका भाइ उथ्राजनले भने तबलामा इच्छा देखाए। उथ्राले फेशन डिजाइनिङ् पढिन्। उथ्राजा र उथामा भने उपचारका लागि मानिसलाई बेहोस बनाउने प्राविधिक बने।

विवाहका लागि केटा खोजी हुन थालेपछि उथ्राजाले सबैभन्दा पहिले एक वर्ष अगाडि केटा भेटिन् तर हतार नगर्ने निर्णय गरिन्। उनी भन्छिन्, ‘हामी सबैको विवाह एकैदिन हुनुपर्छ भन्ने हाम्रो आमाको इच्छा हो। त्यसैले हामीले कुर्ने निर्णय गर्‍यौँ।’

भारतीय विवाहमा निकै खर्च हुन्छ र धेरै परिवारले खर्च घटाउनका लागि दाजुभाइ वा दिदीबहिनी मिलेर विवाह गर्छन्। चार दिदीबहिनीको छुट्टाछुट्टै विवाह गर्नको लागि आमालाई आर्थिक रुपमा निकै भार पर्न सक्छ।

तर संयुक्त विवाह गर्ने इच्छा खर्चभन्दा भावनात्मक सम्बन्ध कारक रहेको ती दिदीबहिनीले बताए। उथ्राजाका भावी श्रीमानले पनि विवाह छिटो गर्न दबाब दिएनन्।

उनी आकाश कुमारसँग विवाह गर्दैछिन् जो मध्यपूर्वमा बिरामीलाई शल्यक्रिया अगाडि बेहोस बनाउने प्राविधिकको काम गर्छन्। उनले भनिन्, ‘खासमा उनी कुवेत जानुभन्दा अगाडि हामी एउटै अस्पतालमा काम गर्थ्यौं। हामी एकअर्कालाई चिन्थ्यौं। मेरो आमासँग विवाहबारे प्रस्ताव राख्न उनको परिवार तयार भयो।’

उनी अहिलेको जागिरमा विदेश जानुअघि दुई वर्षको अनुभव होस् भन्ने चाहन्छिन्। त्यसको मतलब विवाहको केही महिनापछि उनी श्रीमान भएकै ठाउँमा जान्छिन्।

‘यो केही कठिन कुरा हो। भय पनि छ। म कहिल्यै पनि अर्को देश गएकी छैन। तर सँगसँगै म विवाहको विषयलाई लिएर एकदमै उत्साही पनि छु।’ उथ्रा र उथामाले पनि मध्यपूर्वमै काम गर्ने पुरुषहरूसँग विवाह गर्दैछन्।

जीवनको नयाँ अध्याय सुरु गर्न लागेको विषयमा दिदीबहिनीहरू उत्साही छन् र भाइ उथ्राजन विवाह गर्ने हतारोमा छैनन्। उनी पनि विदेश गएर केही वर्ष काम गरेपछि मात्रै नयाँ जीवन सुरु गर्न चाहन्छन्।

उनीहरू जन्मदा बुवाआमा पाँच सन्तानलाई यो धर्तीमा स्वागत गर्न निकै खुसी थिए र उनीहरूले आफ्नो घरलाई ‘पञ्चरत्न’ नाम दिए। बच्चाहरूले पढाइमा राम्रो गरे तर उनीहरूको स्वास्थ्य मुख्य चिन्ताको विषय थियो।

‘उनीहरू कम तौलका थिए, अस्वस्थ थिए र बिरामी भइरहन्थे’, उनीहरूकी आमा रिमादेवी सम्झिन्छिन्। पाँचजना बच्चालाई हुर्काउन प्रेमकुमार र रिमादेवीलाई निकै सङ्घर्ष गर्नुपर्‍यो। यसले गर्दा रिमादेवीको स्वास्थ्यमा पनि समस्या भयो।

उनीहरूसँग बचत गरेको अलिकति पैसा थियो र उनीहरूले आफ्ना सबै ऊर्जा बच्चाहरूको पढाइमै केन्द्रित गरे। भारतमा अभिभावकहरू आफ्नो सन्तान छोरा होस् भन्ने चाहन्छन् र धेरै घरहरूमा छोराहरूलाई विशेष व्यवहार गरिन्छ।

तर चार दिदीबहिनीले आफूहरूलाई बुवाआमाले समान व्यवहार गरेको बताए। एउटै लुगा किनिदिएको बताए। ‘यसले हामीबीचमा कहिल्यै पनि समस्या ल्याएन। हामीले एक अर्काको लुगा लगाउन पनि कहिल्यै अप्ठ्यारो मानेनौ’, अथ्राराले भनिन्। तर उनीहरू नौ वर्षको हुँदा वियोग पर्‍यो।

उनीहरूको बुवा प्रेमकुमारले स्टेशनरी पसल चलाउँथे तर व्यापारमा धेरै घाटा लागेपछि सन् २००४ मा उनले आत्महत्या गरे। परिवारमा कमाइ गर्ने व्यक्तिको मृत्युबारे पत्रिकाले समाचार लेखे र स्थानीय सरकारले रिमादेवीलाई स्थानीय बैंकमा जागिर दियो।

‘मेरो ध्यान बालबच्चालाई हुर्काउनेमा थियो। मेरो जागिरले उनीहरूलाई खुवाउन र पढाउन मद्दत गर्‍यो।’ उनीहरूको सङ्घर्ष देखेर एक चिकित्सकले उनीहरूलाई बस्न घर दिए। ‘समस्याको बेला मानिसहरूमा मानवता देखिन्छ,’ रिमादेवी भन्छिन्।

पाँचैजनाले पढाइमा राम्रो गरे र स्नातक उतीर्ण गरे। ‘आमा धेरै खुसी हुनुहुन्छ,’ उथारा भन्छिन्। परिवारका सदस्यहरू हिन्दु हुन् र उनीहरूको इच्छा एउटा प्रसिद्ध मन्दिरमा विवाह होस् भन्ने छ। विवाहमा नजिकका आफन्त र साथीहरूलाई मात्रै निम्ता गरिनेछ।

उक्त विवाहमा पत्रकार र फोटोपत्रकार पनि राम्रै सङ्ख्यामा आउने छन्। ‘चर्चामा हुनु पनि राम्रै हो,’ उथारा भन्छिन्। पाँचजना एकैपटक जन्मिनु विरल घटना हो र यसकारण सञ्चारमाध्यमले उनीहरूलाई समाचारको विषय बनाइरह्यो।

उनीहरूको जन्म, विद्यालयमा पहिलो दिन र अन्तिम दिन सबै समाचार बन्यो। यी दिदीबहिनीहरूको अहिलेको चिन्ता भनेको कसरी आमालाई सहयोग गर्न सकिन्छ भन्ने हो। उनीहरू कहिल्यै एकआपसको साथ नछोड्ने बताउँछन्।

‘हामी फरकफरक स्थानमा रहेपनि हामी भावनात्मक रूपमा एक रहेछौँ र एकआपसका बारेमा सोचिरहने छौँ,’ उथ्राले भनिन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *