रनरेटमा काठमाडौंलाई पछि पार्दै विराटनगर प्लेअफमा प्रवेश

डिसी नेपाल
९ पुष २०७६ १५:०२

पोखरा । बुधबार पोखरामा जारि प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी अन्तर्गत विराटनगर टाइटन्स प्लेअफमा प्रवेश गरेको छ । आज भएको खेलमा बुटवल ब्लास्टर्सलाई ४ विकेटले जितेपछि रन रेटमा काठमाडौंलाई पछि पार्दै विराटनगर प्लेअफमा प्रवेश गरेको हो । बुटवलले दिएको १ सय ३४ रनको टार्गेट विराटनगरले ११ ओभर ४ बलमा ६ विकेटको क्षतिमा भेट्टाएको थियो । विराटनगरलाई प्लेअफमा प्रवेश गर्न आजको खेलमा १२.३ ओभरमा जित्नैपर्ने दवाव थियो ।

विराटनगरका लागि ओपनर ब्याट्सम्यानले राम्रो सुरुवात गरेका थिए । उनले १० बलमा ४ चौका र १ छक्काको मद्दतले २४ रन बनाउका थिए । अर्का ओपनर लोकेश बलमे २ छक्काको मद्दतले ५ बलमा १३ रन बनाउँदै पेभेलियन फर्किए । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका कप्तान प्रदीप सिंह ऐरीको ब्याटिङ खराब रह्यो । उनी ५ रनमै आउट भए ।

त्यस्तै पुनीत महरा १७ बलमा ३ चौका र १ छक्काको मद्दतले ३२ रन बनाए । अर्का ब्याट्सम्यान नोमन खानले २२ बलमा ५ चौकाको मद्दतमा ३५ रन बनाउँदै बाहिरिए । त्यसैगरी सुनिल धमाला २ रन मात्रै बनाए भने पुष्प थापा र मनिस थापाले अविजित क्रमशः १८ र १ रन बनाए ।

बुटवलका लागि बलिङमा नितेश थापाले २ ओभरमा १७ रन दिँदै २ विकेट लिए । त्यस्तै कमल खत्री, हर्स टोङ्क र अविनाश बोहराले समान एकएक विकेट लिए ।

ब्याटिङमा बुटवलका लागि भने ओपनिङ त्यति राम्रो भएन । ओपनिङमा ब्याटिङ गर्न मैदान प्रवेश गरेका ओपनर अफ्ताबुद्धिन अहमद शुन्य रनमै आउट भए भने अर्का ओपनर शंकर रानाले १४ बल खेलेर २ रन मात्रै बनाए । तेस्रो नम्बरमा ब्याटिङ गर्न मैदान प्रवेश गरेका हर्स टोङ्कले आक्रामक ब्याटिङ गरे । उनी ४४ बलमा ६ चौका र ५ छक्काको मद्दतले ६७ रन बनाउँद दिपेश श्रेष्ठको बलमा प्रदीप सिंह ऐरीको हातबाट क्याच आउट हुन पुगे ।

चौंथो नम्बरमा ब्याटिङ गर्न मैदान प्रवेश गरेका भिम सार्की ५ रनमै आउट भए भने कप्तान सिद्धान्त लोहनी ११ रनमै आउट हुन पुगे । त्यस्तै पाँचौ नम्बरमा मैदान प्रवेश गरेका शिभम सिंङले इनिङलाई माथि उकास्ने क्रममा २६ बलमा ३७ रन बनाउँदै मोहम्मद जाहिर आलमको बलमा नोमन खानको हातबाट क्याच आउट भए । त्यस्तै रबिन्द्र शाही शुन्य रनमै पेभेलियन फर्किए ।

विराटनगरका लागि मोहम्मद जाहिर आलमले ४ ओभरमा १ रन दिँदै ३ विकेट लिए । त्यस्तै किशोर महतोले ४ ओभरमा २२ रन दिँदै २ विकेट लिए । भने दिपेश श्रेष्ठ र साहब आलमले समान एकएक विकेट लिए । यो खेलमा विराटनगर विजेता भएसँगै काठमाडौं गोल्डेन वारियर्स रन रेटको आधारमा पछि पर्दै प्रतियोगिताबाट बाहिरिएको छ ।

अब भोलि हुने एलिमिनेटर खेलमा पुनः बुटवल र विराटनगर आमने सामने हुनेछन् । विजेताले शनिबार हुने फाइनल खेलमा चितवन राइनोजसँग भिड्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *