केही सेकेन्ड जोगाएर करोडौँ कमाइ

डिसी नेपाल
९ पुष २०७६ १८:०१

बीबीस । ब्रिटेनको ब्याङ्क अफ इङ्ग्ल्यान्डले आफ्ना पत्रकार सम्मेलनहरूको अडिओ फीडमा व्यापारीहरूलाई गोप्य रूपमा पहुँच दिइएको स्वीकारेको छ।

त्यसरी पहुँच दिँदा सम्झौता हुनुभन्दा केही महत्त्वपूर्ण क्षणअगाडि लगानीकर्ताहरूले त्यसको फाइदा उठाएको बताइन्छ।

समयको छोटो अन्तरले हेज फन्ड्स भनिने मान्यताप्राप्त व्यक्ति वा संस्थाबाट पुँजी सङ्कलन गरी विभिन्न सम्पत्तिमा लगानी गर्ने कोषलाई बजारमा लाखौँ पाउन्ड कमाउन सहयोग पुर्‍याउँछ।

खेलकुदमा बाजी थाप्नेहरू पनि अरूले भन्दा आफू चाँडै कदम चाल्न यथासम्भव प्रयास गर्छन्।

ब्रिटेनको केन्द्रीय ब्याङ्क द ब्याङ्क अफ इङ्ग्ल्यान्डका गभर्नरले नियमित पत्रकार सम्मेलनको आयोजना गर्छन् जहाँ अर्थतन्त्रले कुन स्थितिमा छ भन्नेबारे जानकारी दिइन्छ।

ब्याजदरसम्बन्धी निर्णयजस्ता बजारका लागि संवेदनशील मानिने विषयमा ब्याङ्कका अधिकारीहरूले गर्ने टिप्पणीले एक सेकेन्डको केही भागभित्र पाउन्च स्टर्लिङको भाउ र बजारका अन्य कुरालाई प्रभावित तुल्याउन सक्छ।

सर्वसाधारणले भिडिओ स्ट्रीममा हेर्नुअघि द ब्याङ्क अफ इङ्ग्ल्यान्डको एउटा अडिओ फीड हेज फन्ड्ससम्म पुगिसकेको थाहा भयो।

भिडिओ प्रसारण विफल भएको खण्डमा मात्रै विकल्पको रूपमा प्रयोग हुने फीडलाई आफ्नो एक आपूर्तिकर्ताले दुरुपयोग गरेको सो ब्याङ्कले जनाएको छ।

त्यो चुहावटको अर्थ ब्याङ्कका उच्च अधिकारीहरूका कुरा व्यापारीहरूले पाँचदेखि आठ सेकेन्ड पहिल्यै थाहा पाए। सो विषयमा सबैभन्दा पहिला द टाइम्स पत्रिकाले समाचार प्रकाशित गर्‍यो।

उसका अनुसार कम्तीमा यो वर्षको आरम्भदेखि नै पत्रकार सम्मेलनका कुरा गोप्य रूपमा सुन्ने गरिएको थियो।

द ब्याङ्क अफ इङ्ग्ल्यान्डले त्यो चुहावट पूर्ण रूपमा स्वीकार्य नहुनेगरी अडिओ फीडको प्रयोग भएको जनाएको छ र हेज फन्ड्सले ब्याङ्कको सहमति वा जानकारीबिनै प्रयोग गर्न दिएको र त्यसबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

व्यापारीहरूलाई त्यो सेवा कसरी बेचिएको थियो भन्नेबारे खुलासा गर्ने दस्तावेजहरू हेरेको द टाइम्सले जनाएको छ। बजारमा भएका परिवर्तनबारे अरूले भन्दा आफूले चाँडै प्रतिक्रिया जनाउन सहज होस् भनेर हाई फ्रिक्वेन्सी व्यापारीहरूले अतितीव्र गतिका कम्प्युटर र डाटाको प्रयोग गर्छन्।

यदि अरू कम्पनीहरूले सूचना पाउनका लागि तार भएका नेटवर्क प्रयोग गर्छन् भने हाई फ्रिक्वेन्सी व्यापारीहरूले झन् तीव्र गतिको ुओभर द एअर माइक्रोवेभ लिङ्कु प्रयोग गर्छन्।

एक सेकेन्डको सानो भागले व्यापारीहरूलाई ठूलो लाभ पुर्‍याउँछ। त्यसबाट उनीहरूले आफ्ना प्रतिद्वन्द्वीले भन्दा पहिला व्यापार गर्न तथा शेअर बन्ड्स तथा मुद्रा कारोबारमा लाखौँ कमाउन सघाउ पुग्छ।

हाई फ्रिक्वेन्सी व्यापारबारे माइकल लेविसले आफ्नो किताब फ्ल्याश ब्वाइजमार्फत्‌ सबैको ध्यानाकृष्ट गरेका थिए। सन् २०१५ मा बीबीसीलाई भनेका थिए, ‘यो अभ्यासका कारण हामी अमेरिकी शेअर बजारमा धाँधली हुन्छ भन्न सक्छौँ।’

समय पैसा हो भन्ने कुरा आर्थिक जगत्‌मा मात्रै लागु हुँदैन। के भइरहेको छ भन्ने कुरा तपाईँले अरूभन्दा पहिला थाहा पाउनुभयो भने खेलकुदमा पनि तपाईँ धनी हुन सक्नुहुन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *