संसदमा जङ्गली हात्तीको चर्चा

डिसी नेपाल
२४ पुष २०७६ १७:२७

काठमाडौं । चितवनको राष्ट्रिय निकुञ्ज आसपासका बस्तीमा जङ्गली हात्ती आतङ्क बढेकाले नियन्त्रण गर्न सांसदले माग गरेका छन् । राष्ट्रियसभाको बिहीबारको बैठकको शून्य समयमा सांसद दिलकुमारी रावलले राप्ती नदी नजीकको बस्तीमा जङ्गली हात्तीले आक्रमण गरी घर भत्काएको र जनतालाई त्रसित बनाएकाले नियन्त्रण गरी पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गरिन्। हात्तीले राप्तीस्थित लोकनारायण सापकोटालगायतका घर भत्काएको थियो । यस्तै भरतपुर ३ मा पनि तीन घर हात्तीले भत्काएको बताइएको छ ।

सांसद धनकुमारी खतिवडाले सेक्युरिटी प्रेस खरीदमा बढी मूल्य तिर्न लागिएको आशङ्का गरिएको छ भन्दै लागतभन्दा झण्डै दोब्बर मूल्यमा खरीद गर्नुपर्ने कारण किन भनी प्रश्न गरिन् । उनले यती समूहलाई फाइदा पुग्ने गरी सार्वजनिक सम्पत्ति भाडामा दिन हतारिएको भनी सरकारको आलोचना गरे।

सभाको विशेष समयमा नेपाली काँग्रेसका राधेश्याम अधिकारीले सभामा पेश भएका विधेयकमा उठेका सवाललाई सम्बोधन गर्नुपर्ने बताए। पेश गरिएका विधेयकका कतिपय प्रावधान मौलिक हकसँग बाझिएको छ भन्दै उनले त्यसलाई सच्याएर लैजान सरकारको ध्यानाकर्षण गराए। नेकपाका रामनारायण बिंडारीले बढ्दो सडक दुर्घटनाका कारण नागरिकले अकालमै ज्यान गुमाउनु परेको छ भन्दै सडक सुरक्षामा ध्यान दिन सरकारलाई आग्रह गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *