बालबालिकाका लागि लगानी बढाऔंः राष्ट्रपति भण्डारी

डिसी नेपाल
१ माघ २०७६ १४:५९

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले भविष्यका जिम्मेवार नागरिक बालबालिकाका लागि लगानी बढाउन सरकार र सम्बन्धित पक्षलाई आग्रह गरेकी छिन्।

माघे सङ्क्रान्तिका अवसरमा राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित ‘बालबालिकासँग राष्ट्रपति’ कार्यक्रममा उनले शिक्षा र स्वास्थ्यका साथै असल नागरिक बनाउन तिनमाथि लगानी बढाउन र हेरचाहमा कुनै कमजोरी भए विशेष ध्यान दिन संसद् र सरकारले ध्यान दिने विश्वास व्यक्त गरिन्।

उनले आफू एकदिन भए पनि मकर सङ्क्रान्तिका अवसरमा बालबालिकासँग रमाउन र उनीहरुलाई अभिभावकत्व दिन पाउँदा खुशी भएको बताइन्। नेपाल बाल सङ्गठनका बालबालिकाले शीतल निवास परिसर र राष्ट्रपति निवास अवलोकनपछि आयोजित कार्यक्रममा विभिन्न गीत र नृत्यसमेत प्रस्तुत गरेका थिए।

यसैगरी पद्मकन्या बहुमुखी क्याम्पसका छात्राले पनि विशेष नृत्य प्रस्तुत गरेका थिए। शीतल निवासमा बालबालिकालाई माघी पर्वमा खाइने मिष्ठान्न भोजन गराइएको थियो।

विगतमा माघीका अवसरमा राजनीतिक दलका नेतासँग भेटघाट तथा चियापान कार्यक्रम राखिने गरेकामा पछिल्लो दुई वर्षयता राष्ट्रपतिले आजको दिन बालबालिकासँग बिताउने गरेकी छिन्। बालबालिकाको हितका लागि राष्ट्रको ध्यान खिंचियोस् भनेर प्रकृति र संस्कृतिसँग जोडिएको माघी पर्वका अवसरमा भेटघाट कार्यक्रम राखिएको जनाइएको छ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.