कोशीमा मनसुन सक्रिय: हिमाली र पहाडी भेगमा वर्षा र हिमपातको सम्भावना, तराईमा तातो लहर
काठमाडाैं। हाल नेपालको कोशी प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको छ भने देशका अन्य भू-भागमा स्थानीय र पूर्वीय वायुको आंशिक प्रभाव देखिएको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी प्रदेशका साथै अन्य प्रदेशका हिमाली र पहाडी भू-भागमा साधारणतया बदली रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ भने तराईका बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो देशका हिमाली र पहाडी भू-भागका साथै कोशी प्रदेशको तराई क्षेत्रमा साधारणतया बदली रहनेछ भने मधेस प्रदेशमा आंशिक बादल लाग्ने देखिन्छ।
यसैगरी, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली र पहाडी क्षेत्रका एक-दुई स्थानमा पनि वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ। तराईतर्फ कोशीका केही र मधेस प्रदेशका एक-दुई स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहँदा लुम्बिनी र सुदूरपश्चिमका तराईमा भने तातो लहर (लू) चल्ने तथा बागमती र गण्डकीका तराई क्षेत्रमा अत्यधिक गर्मी हुने अनुमान गरिएको छ।
आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी र कोशीको तराई भू-भागमा साधारणतया बदलीकै अवस्था रहनेछ। रातिको समयमा कोशी, बागमती र गण्डकीका केही स्थान तथा लुम्बिनी र कर्णालीको हिमाली भेगमा मेघगर्जनसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ।
विशेषगरी कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका साथै कोशीको तराई क्षेत्रका एक-दुई स्थानमा भारी वर्षाको समेत जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।







डिसी नेपाल







Facebook Comment