‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ फागुन १ गतेदेखि

डिसी नेपाल
५ माघ २०७६ ११:४३

काठमाडौं। तेस्रो ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) फागुनको १ देखि ५ (फेब्रुअरी १३ देखि १७) गतेसम्म काठमाडौंमा सञ्चालन हुने भएको छ।

नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठानको आयोजनामा हुँदै आएको महोत्सव काठमाडौंको सभागृह तथा पर्यटन बोर्डको सभाकक्षमा ५ दिनसम्म सञ्चालन हुनेछ।

नेपाली चलचित्रको रचनात्मक विकासको उद्देश्यसहित हुन लागेको महोत्सव अवधिभर ८० चलचित्र प्रदर्शन हुनेछन्। जसमा १० अन्तर्राष्ट्रिय कथानक चलचित्र, ३५ लघु चलचित्र, ५ नेपाली कथानक चलचित्र, १५ नेपाली लघु चलचित्र, ८ वृत्तचित्र र ६ एनिमेटेड चलचित्र रहेका छन्।

५५ देशबाट प्राप्त ६ सयभन्दा बढी चलचित्रबाट उत्कृष्ट ८० चलचित्र छानिएको हो। ‘विश्वका कथाहरूको कथ्य उत्सव’ नारासहित हुन लागेको महोत्सवमा विगतमा कथानक चलचित्र मात्र प्रस्तुत गरिएकोमा यो वर्ष एनिमेसन र वृत्तचित्रको विधा पनि थपिएको छ। महोत्सवमा कथानक चलचित्र, वृत्तचित्र तथा एनिमेटेड विधाका उत्कृष्ट चलचित्रलाई बेग्लाबेग्लै पुरस्कार प्रदान गरिनेछ।

अन्तर्राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत सर्वाेत्कृष्ट कथानक चलचित्रलाई १ हजार ५ सय अमेरिकी डलरसहित गौतम बुद्ध अवार्ड, सर्वोत्कृष्ट वृत्तचित्रलाई १ हजार डलरसहित माउन्ट एभरेस्ट अर्वाड, सर्वोत्कृष्ट एनिमेटेड चलचित्रलाई ७५० डलरसहित मञ्जुश्री अवार्ड, सर्वोत्कृष्ट लघु चलचित्रलाई ५ सय डलरसहित वाग्मती अर्वाड प्रदान गरिने छ।

फेस्टिभलमा प्रदर्शन हुनेमध्ये कथानक चलचित्रलाई बलिउड चलचित्र निर्देशक प्रकाश झा नेतृत्वको निर्णायक मण्डलले मूल्यांकन गर्नेछ। यसमा गौरी मल्ल, मञ्जुकुमार श्रेष्ठ, पोर्जुगिज फिल्ममेकर जाओ पाओलो र सिंगापुरका फिल्ममेकर युनी हाडी सदस्य रहनेछन्। वृत्तचित्र, लघु चलचित्र तथा एनिमेटेड चलचित्रतर्फको जुरीको नेतृत्व श्रीलंकन चलचित्रमेकर अनोमा राजाकरुणाले गर्नेछन् भने उनलाई थिबाउट फ्रेक र करुण थापाले सघाउनेछन्।

नेपाली प्रतिस्पर्धाअन्तर्गत उत्कृष्ट कथानक चलचित्रलाई १ लाख रुपैयाँसहितको पुरस्कार र उत्कृष्ट लघु चलचित्रलाई ४० हजार रुपैयाँसहितको पुरस्कार प्रदान गरिनेछ। कथानक चलचित्रतर्फका उत्कृष्ट निर्देशक, लेखक, छायाँकार, अभिनेता र अभिनेत्रीलाई ट्रफी प्रदान गरिनेछ।

महोत्सवमा चलचित्र प्रदर्शनसँगै समानान्तर रुपमा विभिन्न विषयमा छलफल पनि सञ्चालन हुनेछन्। यस्ता छलफल अन्तर्गत राजेश हमाल आफ्नो अभिनय यात्राका बारेमा अनुभव सुनाउन राजी भएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *