जापानी अर्बपतिले अचानक किन स्थगित गरे जीवनसाथीको खोजी ?
बीबीसी। स्पेसएक्स मिशनको पहिलो अन्तरिक्ष पर्यटकका रूपमा चन्द्रमावरिपरि यात्रा गर्ने योजना बनाएका जापानी अर्बपतिले आफूसँग सहयात्रा गर्ने ‘जीवनसँगिनी’ को खोजी स्थगित गरेका छन्। फेशन उद्योगमा महारथी मानिएका युसाकु माइएजावाले २० वर्षमाथिका अविवाहित महिलालाई “जोडी बाँध्ने” एउटा कार्यक्रममा सहभागी हुन आवेदन दिन आमन्त्रण गरेका थिए। झन्डै २८,००० महिलाले आवेदन पनि दिएका थिए।
तर बिहीवार उनले आफूलाई “मिश्रित अनुभूति” भएको भन्दै जीवनसँगिनी खोज्ने योजना स्थगित गरेको घोषणा गरे। उनको सन् २०२३ मा अन्तरिक्षयात्रा गर्ने योजना भने परिवर्तन भएको छैन। उनी अब एक्लै अन्तरिक्ष पर्यटक बन्नेछन्। गत महिना ४४ वर्षीय माइएजावाले सहयात्रीको खोजी गर्न एउटा वेबसाइटमा विज्ञापन गरेका थिए। त्यसमा सर्त र मापदण्डहरूको सूची थियो।
आवदेक अविवाहित, २० वर्षमाथि र अन्तरिक्षयात्रा गर्न इच्छुक हुनुपर्ने उल्लेख थियो। आवेदकमध्ये एक जना मात्रै छानिने र त्यो प्रक्रियामा “फूल मून लभर्स” नामक वृत्तचित्र बनाउने योजना भएको बताइन्छ। तर उनले ट्विटरमार्फत् सहयात्रीको खोजी नगर्ने घोषणा गरे।
एउटा ट्वीटमा उनले लेखेका छन्, “२७,२२२ महिलाले हार्दिकतापूर्वक र साहसपूर्वक आफ्नो बहुमूल्य समय आवदेन दिन उपयोग गरेको सम्झिँदै मेरो यो स्वार्थी निर्णयबारे जानकारी गराउँदा मलाई एकदमै पछुतो छ।” उनी भर्खरै २७ वर्षीया अभिनेत्री आयामे गोरिकीसँग छुट्टिएका थिए।
Due to personal reasons, I have informed AbemaTV yesterday with my decision to no longer participate in the matchmaking documentary, hence requested for the cancellation of the show.
— Yusaku Maezawa (MZ) 前澤友作 (@yousuck2020) January 30, 2020
जोजो नामक कम्पनीका संस्थापक तथा प्रमुख माइएजावाले यसअघि पनि अरूको ध्यानाकृष्ट हुने खालका गतिविधि गरेका थिए। आफ्नो एउटा ट्वीट शेअर गर्ने १०० जना व्यक्तिलाई १० लाख येन बाँड्ने वाचा उनले गरेका थिए। “सहभागी हुन तपाईँले मलाई फलो गर्नुपर्छ र यो ट्वीट रिट्वीट गर्नुपर्छ,” उनले लेखेका थिए।
उक्त ट्वीट सर्वाधिक रिट्वीट भयो। उनले गत वर्ष ज्यानुअरीमा विजेताहरूलाई सूचित गरेको विवरण प्रकाशित भएको थियो। सन् २०१८ मा एलन मस्कको कम्पनी स्पेसएक्सले चन्द्रमावरिपरि अन्तरिक्ष उडानमा माइएजावा पहिलो पर्यटकका रूपमा जाने घोषणा भयो।
त्यसका लागि उनले तिर्ने शुल्क गोप्य राखिएको छ। तर मस्कले त्यो “एकदमै धेरै रकम” भएको टिप्पणी गरेका थिए। सन् २०२३ का लागि योजना गरिएको उक्त यात्रामा सन् १९७२ पछि पहिलो पल्ट मानिसहरू चन्द्रमा जानेछन्।







डिसी नेपाल








Facebook Comment