अख्तियारद्वारा घुस लिएको आरोपमा इञ्जिनीयर विरुद्ध मुद्दा

डिसी नेपाल
२१ माघ २०७६ २०:३३

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय लहान, सिराहाका इञ्जिनीयर नवीनकुमार साह र सवइञ्जिनीयर वीरेन्द्रकुमार साहविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार उनीहरुले सेवाग्राहीसँग रुपनी–राजविराज–कुनौली सडक आयोजना निर्माणको अन्तिम बिल भुक्तानी दिने क्रममा विभिन्न बाहाना बनाइ १५ लाख ९६ हजार घुस लिएका थिए । आयोगको बर्दिवासबाट गएको टोलीले उनीहरुलाई घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको थियो । आयोगले घुस वापत लिएको रकम बराबरको बिगो असुल गरी कैद सजायको माग गरी विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

यस्तै सडक डिभिजन कार्यालय लहान, सिरहाका निमित्त डिभिजन प्रमुख विन्दा साह भन्ने विनोद साह विरुद्धसमेत आजै विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगको टोलीले साहलाई तीन लाख घुससहित केही दिन पहिले पक्राउ गरेको थियो । सेवाग्राहीले गरेको सडक निर्माण कार्य सम्पन्न भई अन्तिम बिल भुक्तानीका क्रममा साहले घुस माग गरेको आयोगले जनाएको छ ।

यस्तै आयोगले जनकपुर भन्सार कार्यालय धनुषामा कार्यरत नायब सुब्बा अहमद रजा अन्सारीले नेपाल भारत सीमा क्षेत्रबाट सामान ल्याउन सहज गरिदिने भन्दै एक लाख ५० हजार घुस माग गरेको अभियोगमा पक्राउ गरेको जनाएको छ । आयोगले नायब सुब्बा अन्सारीले सेवाग्राहीसँग एक लाख ५० हजार घुस माग गरेको आरोप लगाएको छ ।

आयोगले अन्सारीलाई सोमबार पक्राउ गरेको भए पनि थप अनुसन्धानपछि आज मात्रै सार्वजनिक गरेको हो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *