इस्टर्न रिजन क्रिकेट खेल्न जाने टिमको विदाई, ओपनिङ जोडीबारे अन्योलता कायमै
काठमाडौं। थाइल्याण्डम हुने एसीसी इस्टर्न रिजन क्रिकेट टि ट्वान्टी प्रतियोगिता खेल्न जाने नेपाली क्रिकेट टिमको बुधबार विदाई गरिएको छ।
क्रिकेट टिमको बुधबार औपचारिक विदाई गर्दैगर्दा पनि नेपाली प्रशिक्षक र कप्तान भने ओपनिङ जोडीबारे अन्योलमा रहेका छन्।
बिदाई कार्यक्रममा बोल्दै प्रशिक्षक जगत टमटाले अहिले नै ओपनिङ जोडीबारे कुनै निर्णय भइनसकेको बताए। उनले भने, ‘अहिले कुनै निर्णय भएको छैन। त्यहाँको अवस्थाअनुसार निर्णय हुन्छ। नयाँ खेलाडी आएका छन्। उनीहरुले मौका पाउन सक्छन्।’
उता कप्तान ज्ञानेन्द्र मल्लले पनि ओपनिङ जोडीबारे अहिले केही भन्न नसकिने बताए। उनले पनि थाइल्याण्ड पुगरेर त्यहाँको आवश्यकता अनुसार ओपनिङ जाडीबारे निर्णय हुने बताए।
पछिल्लो समय नेपालमा ओपनिङ जोडीमा विभिन्न प्रयोग हुँदै आएका छन्। हालै सम्पन्न आईसीसी विश्वकप लिग २ मा नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्ल र पूर्व कप्तान पारस खड्काले ओपनिङ गरेका थिए। तर, यो जोडी सफल हुन नसक्दा नेपाल घरेलु भूमिमा प्रभावकारी जित निकाल्न असफल रह्यो। ओमान, अमेरिका र नेपाल सहभागी लीग २ मा नेपालले अमेरिकालाई दुबै खेलमा पराजित गर्दा ओमानसँग दुबै खेल गुमाएको थियो।
आगामी एसिया कप छनोटको रुपमा रहेको यो प्रतियोगिता नेपालका लागि महत्वपूर्ण हुनेछ।
उता क्रिकेट संघ (क्यान)का सचिब अशोकनाथ प्याकुरेलले कोरोना भाइरसको संकट इस्ट्रन रिजन प्रतियोगितामा पनि देखिएको बताए। उनले तीन वटा टिमले सहभागीता नजाउने बताएको उल्लेख गर्दै नेपाली खेलाडीको सुरक्षाका लागि पर्याप्त छलफल गरिएको बताए।
उनले भने, ‘एसीसी र थाइल्याण्ड क्रिकेट संघसँग हामीले खेलाडीको सुरक्षाबारे कुरा गरेका छौं। उहाँहरुले होटलमा सबै सुविधा हुने र होटलबार खेल्न बाहेक बाहिर जान नपाउने गरी सुरक्षा व्यवस्था गरिएको बताउनु भएको छ।’ म्यानमार, भुटान र चीनले प्रतियोगितामा सहभागीता नजनाउने भएका छन्। प्रतियोगितामा नेपाल, मलेशिया, हङकङ, सिंगापुर र थाइल्याण्ड रहेका छन्।
फ्रेब्रुअरी २९ बाट शुरु हुने प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल मलेशियासँग सोही दिन दोस्रो खेल खेल्नेछ। यी सबै खेलहरु एसीसीको युट्वमा लाइभ हुने जनाइएको छ।
नेपाली टीमः
ज्ञानेन्द्र मल्ल (कप्तान), पारस खड्का, दिपेन्द्र सिंह ऐरी (उपकप्तान), आरिफ शेख, बिनोद भण्डारी, सन्दीप लामिछाने, करण केसी, अभिनास बोहरा, कुशल मल्ल, पवन सरार्फ, सुशन भारी, किशोर महतो, भुवन कार्की र सन्दीप जोरा।







डिसी नेपाल








Facebook Comment