काेराेनाबाट कतारमा बस्ने नेपाली आत्तिनुपर्ने अवस्था छैन

डिसी नेपाल
२९ फागुन २०७६ १५:०५

दाेहा। चीनको वुहानबाट फैलिएको नोभेल कोरोना भाइरस (कोभिड–१९) को प्रकोप अहिले खाडी मुलुकमा पनि देखिएको छ । खाडीमुलुकमा सबैभन्दा बढी कतारमा यसका संक्रमित बिरामी भेटिएका छन् । कतारमा झण्डै ४ लाख नेपाली कार्यरत छन् ।

प्रकोपले उग्ररुप लिन थालेपछि कतारमा काम गर्ने नेपाली आत्तिन थालेका छन् । तर, गैरआवासीय नेपाली संघ (एनआरएनए) का सचिव आरके शर्माले भने कतारमा बस्ने नेपाली आत्तिनुपर्ने अवस्था नरहेको बताउँछन् । शर्मा लामो समयदेखि कतारमा व्यवसाय गर्दै आएका छन्।

‘पछिल्लो समय कतारमा पनि यसका संक्रमित बिरामी भेटिएका छन्,’ शर्माले भने ‘तर, यहाँ रहेका नेपाली आत्तिनुपर्ने अवस्था छैन । सतर्कता भने अपनाउनु पर्छ ।’ त्यहाँको स्वास्थ्य मन्त्रालका अनुसार कतारमा हालसम्म २ सय ६२ जनामा संक्रमण देखिएको छ । यहाँ बुधवार मात्रै २ सय ३८ जना नयाँ संक्रमित भेटिएका छन् ।

यसअघि कोरोना संक्रमणको प्रकोपलाई फैलन नदिन भन्दै कतार सरकारले १४ देशका नागरिकलाई प्रवेश निषेध गरेको थियो। महामारीको रुप लिन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेपालसहित, भारत, चीन, इजिप्ट, इरान, इराक, लेबनान, बंगलादेश, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया र थाइल्यान्डका नागरिकलाई अस्थायी रूपमा प्रवेशमा रोक लगाएको हो । त्यस्तै स्कुल, कलेजहरु पनि बन्द गराएको छ । नेपाल सरकारले पनि कतार जाने कामदारको लागि श्रम स्वीकृती दिन बन्द गरेको छ ।

शर्माले खाडी देशहरुले कोरोना नियन्त्रण गर्न विशेष सावधानी अपनाएको बताए । शर्मा भन्छन्– ‘विश्वलाई चुनौती दिइरहेको कोरोनाको सामना गर्न कतार लगयातका खाडी मुलुकले विशेष किसिमले लागिरहेका छन् । खाडीमुलुकमा यसको मृत्युदर शुन्य छ । त्यसैले पनि अत्तालिएर मनोवल गिराउन हुँदैन ।’

अहिले कतारका निर्माणधीन ठूला ठूला प्रोजेक्टहरुमा पनि सावधानी अपनाउन थालिएको छ । मजदूरहरुलाई कार्यक्षेत्रमै संक्रमणबाट बच्न अपनाउनु पर्ने सावधानीको बारेमा जानकारी गराइन्छ । त्यस्तै श्रमिक क्याम्पहरुमा पनि सचेतना दिंदै आइएको शर्माले जानकारी दिए ।

कतारले संक्रमणको फैलावटलाई रोक्न विभिन्न प्रयास गरिरहेको छ । यस्तो अवस्थामा नेपालीहरु आफै पनि सजग रहनु पर्ने शर्माको भनाइ छ । अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन उनको सुझाव छ । ‘यो अवस्थामा व्यापारिक मल तथा भिडभाड हुने ठाउँमा नजाऔँ । नभइनहुने चीजहरु खरिद गर्न मात्रै बाहिर निस्कौँ । आफ्नो सुरक्षा आफै गरौँ,’ शर्मा सचेत गराउँछन् ।

शर्माले कतारमा बस्ने नेपालीलाई विश्वासिला सञ्चार माध्यमका समाचारहरु पढ्न पनि सुझाव दिएका छन् । अफवाह फैलाउने खालका समचार पढेर तथा शेयर गरेर अरुलाई त्रसित नबनाउन उनको आग्रह छ ।




प्रतिक्रिया

One thought on “काेराेनाबाट कतारमा बस्ने नेपाली आत्तिनुपर्ने अवस्था छैन

Leave a Reply

Your email address will not be published. Required fields are marked *