कोरोना संक्रमण : शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको यस्तो छ पूर्व तयारी

धनकुमार कार्की
३० फागुन २०७६ ७:३२

काठमाडौं। यतिबेला कोरोना भाइरसको संक्रमण विश्वब्यापी रुपमा फैलिरहेको छ। छिमेकी मुलुकहरुमा यसको प्रभाब बढ्दै जाँदा नेपाल पनि उच्च जोखिममा रहेको ठहर गर्दै यसको संक्रमणप्रति सजगता, रोकथाम तथा नियन्त्रणका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले पनि आवश्यक तयारी गरेको छ।

एक्कासी पन्ध्र सय जनामा कोरोना देखिएमा के गर्ने?

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले १५ सय जनामा पोजिटिभ देखिए त्यसको ८० प्रतिशत १२ सयलाई सामान्य खोकीमात्र देखिने हुनाले आफ्नै घरमा क्वरेन्टाइनको व्यवस्था मिलाउने, १५ प्रतिशत १७५ जनालाई खोकी लाग्ने र ज्वरो आउने हुनाले अस्पतालको सामान्य शैय्यामा क्वारेन्टाइन गर्ने व्यवस्था मिलाएको छ।

यसका लागि एक हप्ता अघिदेखि अरु सामान्य बिरामीलाई भर्ना गरिएको छैन। बाँकी ५ प्रतिशत ७५ जनालाई आइसोलेसनमा राखेर उपचार गर्नुपर्ने हुन्छ।

यसका लागि अहिले सञ्चालनमा रहेका ५ ओटा आइसोलेसन बेडलाई बढाएर १५ ओटा आइसोलेसन बेड सञ्चालन गर्ने तयारी अस्पतालले गरेको छ। यसैगरी लपाटन अस्पताल, वीर अस्पताल, शिक्षण अस्पताल, प्रहरी, सेना र शसस्त्र प्रहरी अस्पतालसँग पनि समन्वय गरिएको छ।

भ्रममा नपर्न अपील

केही दिन अघि एक संचारमाध्यममा नेपलगञ्जका एक बिरामी अस्पतालबाट भागेर घर फर्केको समाचार प्रकाशित भएको थियो। समाचारमा उनी स्वस्थ भएर फेरि अस्पताल फर्केको उल्लेख गरिएको थियो। उनै बिरामीलाई अस्पतालले नक्कली बिरामी भनेर स्पष्ट पारेको छ।

कोरोना भाइरस संक्रमनको आशंकामा कुनै पनि बिरामी नभागेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डरीले जानकारी दिए। डिसी नेपालसँग कुराकानी गर्दै राजभण्डरीले भने, ‘कोरोनाको बिरामी हुँ भनेर भ्रम फैलाइएको छ, त्यसको पछि नलाग्नु होला। केही मिडियामा प्रकाशित भएका समाचार झुटा हुन्।’

उनले मिडियाले भनेको भरमा जथाभाबी भ्रममा नपर्न र मास्क, दैनिक उपभोग्य सामानहरु जथाभावी भण्डारण गरेर अभाव सिर्जना नगर्न अपिल समेत गरेका छन्। फागुन २७ गतेबाट आइसोलेसनमा भएकाहरुलाई मनोवैज्ञानिक असर नपरोस भनेर मनोसामाजिक परामर्श सेवा सुरु गरेको र यसलाई निरन्तरता दिइने छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवको संयोजकत्व र मुख्य अस्पतालका निर्देशकहरुको सदस्यतामा कोरोना भाइरसका लागि निर्देशन समिति गठन गरेर सात वटै प्रदेशमा रहेका अस्पताल र स्वस्थ्य क्षेत्रका निकायसँग समन्वय भइरहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर कुमार राजभण्डारीले बताए। यसका साथै नेपाल भित्रीने १२९ आटै नाकामा डेस्क खडा गर्ने पनि बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *