कतारले मध्यरातमा हेलिकप्टरबाट देशभर छर्कियो कोरोना मार्ने कीटनाशक

डिसी नेपाल
४ चैत २०७६ ११:२६

दोहा। कतारमा कोरोना भाइरस (कोभिड–१९)ले आतंक मच्चाएपछि यसको नियन्त्रण तथा रोकथाम गर्न यहाँको सरकारले गएराती देशैभरी कीटनाशक छर्किएको छ । गएराती १२ बजेपछि कतारी सेनाले हेलिकप्टरबाट देशभर कीटनाशक छर्किएको हो ।

कीटनाशक छर्नुअघि सरकारले सोमबार दिउँसै सूचना जारी गर्दै सोमबार मध्यरातपछि कीटनाशक छर्ने कार्यक्रम रहेकाले कसैलाई बाहिर ननिस्कन र बाहिर राखिएका कपडा उठाउन आग्रह गरेको थियो।

यसअघि कोरोनाभाइरस फैलिने सम्भावित जोखिमलाई मध्यनजर गर्दै कतारले २ हप्तासम्म देशमा भित्रिने सबै उडानमाथि प्रतिबन्ध लगाएको थियो। सार्वजनिक यातायात बस र हालै संचालनमा ल्याइएको मेट्रो सिस्टम आइतबार बेलुकीदेखि नै बन्द गराएको छ । मानिस–मानिसबीच प्रत्यक्ष सम्पर्कबाट भाइरस फैलिने खतरा कम गर्न सरकारले ५५ वर्षमाथिका, गर्भवती र दीर्घरोगी सरकारी कर्मचारीहरुलाई घरबाटै काम गर्न अनुमति दिएको छ ।
सरकारले यसअघि नै स्कुल बन्द गरेर दूर शिक्षामार्फ पढाइ संचालन गर्ने निर्णय गरिसकेको छ । उद्योग तथा बाणिज्य मन्त्रालयले समेत ट्वीट गर्दै अर्को सूचना जारी नभएसम्मका लागि रेष्टुरेण्ट र क्याफेमा खाना खान प्रतिबन्ध लगाइएको जानकारी दिएको छ । खाना घरमै डेलिभरीका लागि अर्डर गर्न भने पाइन्छ ।

महामारीले निजी क्षेत्रलाई पार्ने नोक्सानीमा सहयोग गर्नको लागि सरकारले ७५ अर्ब कतारी रियल बराबरको राहत प्याकेजसमेत घोषणा गरेको छ । हालसम्म कतारमा ४ सय ३९ जनामा कोरोनाको संक्रमण देखिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *