कोरोनाको त्रासः अदालत र जिल्ला प्रशासन सुनसान, अत्यावश्यकबाहेक कर्मचारीलाई नै रोक

धनकुमार कार्की
९ चैत २०७६ १५:५३

काठमाडौं । मित्रराष्ट्र चीनबाट सुरु भएको कोरोना भाइरस (कोभिड १९) यतिबेला विश्वका १८८ देशमा फैलिएको छ । विश्व स्वास्थ्य संगठनले नेपाललाई पनि उच्च जोखिममा राखेको छ। कोरोना भाइरस संक्रमण हुन नदिन अस्ति शुक्रबार प्रधानमन्त्री केपी ओलीले अत्यावश्यक सेवाबाहेक सबै कामकाज बन्द गर्न आव्हान गर्दै लकडाउनको अनौपचारिक घोषणा गरेका थिए। प्रधानमन्त्रीको आह्वानसँगै आज आइतबारबाट काठमाडौंमा यसको प्रभाव देखिन थालेको छ ।

कोरोनाभाइरस त्रासले काठमाडौं जिल्ला प्रशासन कार्यालय र काठमाडौं जिल्ला अदालतमा के कस्तो प्रभाव परेको छ भन्ने उद्देश्यका साथ समाचार संकलनमा लागि यी कार्यालयहरुमा पुग्दा दुवै कार्यालय परिसर सुनसान देखिए । काठमाडौंका सरकारी कार्यालयहरुमध्ये काठमाडौ जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालय अति व्यस्त कार्यलय हुन्। तर, आइतबार दिउँसो भने यी कार्यालयहरुमा सेवाग्राहीहरु फाटफुट मात्र थिए।

सरकारले अत्यावश्यक सेवाबाहेक सबै कामकाज बन्द गर्न आह्वान गरेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौमा पनि अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौमा अत्यावश्यक सेवाबाहेक अन्य विभागका कर्मचारीलाई समेत प्रबेशमा रोक लगाइएको छ।

आजदेखि अनिश्चितकालसम्म शान्तिसुरक्षा, उपभोक्ता हकअधिकार र बन्दीप्रत्यक्षीकरण सम्बन्धी सेवामात्र उपलब्ध हुने सहायक प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले डिसी नेपाललाई बताए। उनले भने, अत्यावश्यक सेवाका सेवाग्राहीलाई पनि थर्मल स्क्यानिङ गरेर मात्र प्रवेश गर्न दिने व्यवस्था गरेका छौँ र भित्र हात धुने व्यवस्था पनि रहेको छ।

यस्तै काठमाडौ जिल्ला अदालतले पनि मूल प्रवेशद्वारमै सूचना टाँसेर चैत २१ सम्मका लागि बैयक्तिक स्वतन्त्रता सम्बन्धी बिषय र अत्यावश्यक सेवा मात्र सुचारु रहेको जनाएको छ। यीबाहेक मुद्दा रिट तथा निवेदनहरुमा पेशी तारिख लगायतका कुनै कारबाही नहुने जनाएको छ। त्यहाँपनि सेवाग्राहीलाई थर्मल स्क्यानरले ज्वरो नापेर मात्र प्रवेश दिने व्यवस्था रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *