सडकमा चर्को स्वरमा कुरा गरेको भन्दै क्वारेन्टाइनमा बसेका व्यक्तिले ५ जनालाई गोली हाने

डिसी नेपाल
२३ चैत २०७६ १५:०५

काठमाडौं। ५ जना व्यक्तिले सडकमा जम्मा भएर चर्कोस्वरमा कुरा गरेको र यसले आफूलाई डिस्टर्ब भएको रिसमा घरभित्र क्वारेन्टाइनमा बसेका एक व्यक्तिले घरबाहिर निस्केर पाँचै जनालाई गोली हानिदिएका छन् । घटना रुसको राजधानी मस्कोको हो । यहाँको पुलिसले गएराती गोली हान्ने ३२ वर्षका व्यक्तिलाई पक्राउ गरेको छ ।

द मस्को टाइम्सका अनुसार सडकबाहिर गफ गर्ने मानिसहरु गोली हान्ने व्यक्तिकै छिमेकीहरु थिए । राजधानी मस्कोबाट करिब ३२० किलोमिटरको दूरीमा रहेको येलत्मा भन्ने ठाउँका ती व्यक्तिले रातको करिब १० बजेतिर ती छिमेकीहरुलाई गोली हानेका थिए । गोली हान्ने व्यक्ति र पीडितहरु, जो ४ पुरुष र एक महिला थिए, उनीहरुबीच पहिले वादविवाद समेत भएको बताइएको छ । पाँचै जनाको घटनास्थलमै मृत्यु भएको रिपोर्टमा जनाइएको छ ।

पुलिसका अनुसार गोली हान्ने अभियुक्त भाग्ने प्रयास गरेका थिए तर पुलिसले उनलाई पक्राउ गरेको छ । ती व्यक्तिले छिमेकीहरुलाई मार्न प्रयोग गरेको राइफल उनले शिकार गर्नको लागि कानुनी रुपमा अनुमति पाएको राइफल भएको बताइएको छ । राइफल पनि उनकै अपार्टमेन्टबाट बरामद भएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको छ । रुसी कानुनअनुसार २ जनाभन्दा बढीको हत्या गरेको अभियोग प्रमाणित भए आजीवन कारावासको सजाय हुने बीबीसी रसियाले उल्लेख गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *