रूसले ७५ औँ विजय दिवस कोभिड–१९ को अन्त्यपछि शानदाररूपमा मनाउने

डिसी नेपाल
२७ वैशाख २०७७ १९:३४

मस्को । रूसले ७५ औँ विजय दिवस कोभिड–१९ को अन्त्यपछि शानदाररूपमा विशेष उत्सवका साथ मनाउने रूसी राष्ट्रपतिले शनिबार बताएका छन् ।

राष्ट्रपति भ्लादिमीर पुटिनले शनिबार भने, “कोभिड–१९ महामारीको समाप्तिपछि भव्य देशभक्त युद्धको विजयको ७५ औँ वर्षगाँठ मनाउने छ । रूसले महामारीको अन्त्यपछि ‘व्यापक तथा शानदार’ समारोहबीच ७५ औँ विजय वर्षगाँठलाई मनाइनेछ ।

क्रेमलिनको पर्खाल बाहिर दोस्रो विश्वयुद्धमा तत्कालिन सोभियत संघको तर्फबाट युद्ध लड्ने क्रममा ज्यान गुमाएका ज्ञात अज्ञात शहीदहरूप्रति फूलमाला अर्पण गरेपछि पुटिनले राष्ट्रका नाममा सम्बोधन गर्दै भने, “हामी विजय दिवसको सम्झनामा शानदार समारोह गर्नेछौँ र यसले देशभक्त योद्धाहरूको सम्मान हुनेछ र यो राज्यको कर्तव्य हो।”

“विजय दिवसको आत्मिक, नैतिक तथा उत्कृष्ट महत्व सधैं रहन्छ र यसप्रति हाम्रो दृष्टिकोण पवित्र छ । यो हाम्रो स्मृति र गौरव हो, हाम्रो देशको इतिहास, प्रत्येक परिवारको इतिहास हो,” उनले रूसी जनतालाई विजय दिवसका अवसरमा वधाई तथा धन्यवाद ज्ञापन गरे ।

रूसले मे ९ लाई हरेक वर्ष विजय दिवसका रूपमा मनाउने गर्छ र उक्त दिन रूसमा राष्ट्रिय विदा पनि दिइन्छ ।

रूसबाट नाजी शासनको अन्त्य भएको घोषणा गर्दै यसै दिन वैधरूपमा एक कानूनी घोषणा गरिएको कागजातमा हस्ताक्षर गरिएको थियो । तत्कालिन सोभियत राष्ट्र रूसमा महान् देशभक्त युद्धलाई सन् १९३९ देखि १९४५ सम्म चलेको दोस्रो विश्वयुद्धको अभिन्न अङ्गका रूपमा सम्झिने गरिन्छ ।

विनासकारी उक्त युद्धमा करिब दुई करोड ७० लाख मानिसको मृत्यु भएको विश्वास गरिन्छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *