नरैनापुरका मृतकका तीनै भाइ भारतमै हाेटेलमा काम गर्थे

डिसी नेपाल
५ जेठ २०७७ ७:२५

नेपालगञ्ज। बाँकेको नरैनापुर गाउँपालिकाको क्वारेन्टाइनमा मृत्यु भएका युवक नरैनापुर गाउँपालिकाको वडा नम्बर ५ को नयाँबस्तीका स्थानीय बासिन्दा ती युवक पछिल्लो पटक पाँच महिनाअघि मात्र रोजगारीका लागि मुम्बई गएको उनका काकाले बताएका छन् ।

मृतकका काकाका अनुसार १५ वर्षको उमेरदेखि नै मुम्बईको होटलमा काम गरिरहेका ती युवक यसपटक धेरै दिन मुम्बई बस्न सकेनन् । लकडाउनले गर्दा उनको होटल बन्द भएपछि उनलाई त्यहाँबाट निकालियो ।

ती युवकलगायत गाउँका अन्य थुप्रै युवा मुम्बईबाट कतै पैदल त कतै ट्रक ट्याक्टर गरेर एक साताअघि सिमानामा पुगेका थिए । वैशाख ३० गते उनलाई गाउँपालिकाको पहलमा भित्र्याएर दीपेन्द्र माविको क्वारेन्टाइनमा राखिएको थियो।

सात वर्षअघि भारतको नासिरगन्जमा विवाह गरेका मृतकका एक छोरा र एक छोरी छन्। छोरा ५ वर्षका छन् भने छोरी ११ महिनाकी रहेको उनका आफन्तले बताएका छन्। मृतकका २ जना भाइहरू पनि भारतको दिल्लीमा होटलमा काम गर्दै आएकोमा एकजना केही दिनपहिले नेपाल आएका थिए भने अर्का भाइ अहिले सीमापारि आएर अड्किएको मृतकका काकाले बताए।

नयाँबस्तीका अधिकांश बासिन्दा निकै गरिब र विपन्न रहेकोले त्यहाँका सबै युवा रोजगारीका लागि भारतमा जाने गरेका थिए । ती युवकको मृत्यु बिहानै भएपनि कोरोना परीक्षण रिपोर्ट आउन ढिलाई भएकोले उनको शवलाई विद्यालयको चौरमै छोडिएको थियो ।

विद्यालयलाई मृतकका आफन्त र स्थानीय बासिन्दाले घेरेर बसेको वडा नम्बर ५ का वडा अध्यक्ष कृष्णचन्द्र मौर्यले बताए। विद्यालयको चारैतिर नेपाली सेनासहितको सुरक्षाकर्मीहरू ठूलो सङ्ख्यामा तैनाथ गरिएको छ।
मृत्युको कारण कोरोना पुष्टि भैसकेपछि सरकारले बनाएको शव व्यवस्थापन नीतिअनुसार नेपाली सेनाले शवको अन्तिम संस्कार गर्न लगाउने तयारी शुरु गरिएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताए।

मृतकका दुईजना आफन्त र सुरक्षाकर्मीले मिलेर शवको अन्तिम संस्कार गर्ने तयारी भैरहेको नरैनापुर गाउँपालिकाले जनाएको छ। यसअघि ती युवकको मृत्युपछि नरैनापुर क्षेत्रमा तनाव र आक्रोश बढ्दै गएकोले जिल्ला सदरमुकामबाट थप सुरक्षाकर्मी पठाएर सुरक्षा कडा पारिएको थियो।

ती युवकको मृत्यु कोरोनाबाट भएको पुष्टि भएपछि वडा नम्बर ५ स्थित दीपेन्द्र माविको क्वारेन्टाइनमा रहेका ४० जना निकै त्रसित र आतङ्कित देखिएको वडा कार्यालयले जनाएको छ।

नरैनापुर गाउँपालिकाको वडा नम्बर ५ स्थित दीपेन्द्र माविको क्वारेन्टाइनमा चारदिन अघिदेखि बसेका ती २५ वर्षीय युवकको बान्ता लागेर बेहोस भएपछि आइतबार बिहान मृत्यु भएको थियो।

उनको मृत्यु हुनुअगाडि नै शनिबार सङ्कलन गरिएको स्वाब परीक्षणमा उनलाई कोरोना पोजिटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले आइतबार अपरान्ह पुष्टि गरेको छ। नरैनापुरमा दुई दिनअघि भेटिएका ८ जना सङ्क्रमितको सम्पर्कमा आएका ती युवकको शनिबार दिउँसो स्वाब सङ्कलन गरिएको थियो।

गाेरखापत्र दैनिकयच




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *