पोखरा महानगरमा महिलालाई छुट्टै क्वारेन्टिन निर्माण गरिने

डिसी नेपाल
१२ जेठ २०७७ १०:०३

पोखरा । पोखरा महानगरले कोरोना सङ्क्रमण रोकथामका लागि महिलालाई छुट्टै क्वारेन्टिन बनाउने भएको छ।

पोखरा महागनर कोरोना सङ्क्रमण नियन्त्रण मूल समितिका संयोजक एवं महानगर उपप्रमुख मञ्जुदेवी गुरुङको अध्यक्षतामा आइतबार बसेको बैठकले महानगरका ३३ वटै वडामा क्वारेन्टिन निर्माण गर्ने र महिलाका लागि छुट्टै क्वारेन्टिन निर्माण गर्ने निर्णय गरेको हो।

उपप्रमुख गुरुङले सबै वडाका वडाध्यक्षलाई ५० जना राख्न सकिने स्थानको छनोट गर्नका लागि पत्राचार गरिने र महिलाका लागि एउटा छुट्टै क्वारेन्टिन स्थानको छनोट र व्यवस्थापन गर्न महानगरको क्वारेन्टिन व्यवस्थापन समितिलाई निर्देशन दिने निर्णय भएको जानकारी दिए।

महानगरले हाल दुईवटा क्वारेन्टिन सञ्चालन गरेको छ। पोखराको मालेपाटनस्थित कृषिको छात्रावास र जाल्पारोडस्थित लेकसिटी रिसर्च एण्ड हस्पिटलमा महानगरले क्वारेन्टिन सञ्चालन गरेको छ।

सङ्क्रमणको जोखिम बढ्दो देखिएकाले आगामी दिनमा थप व्यक्ति राख्नपर्ने अवस्थालाई ध्यान दिएर महानगरले क्वारेन्टिन निर्माण गर्न लागेको उपप्रमुख गुरुङले बताए।

त्यसैगरी महानगरले उपलब्ध गराउँदै आएको सुत्केरी पोषण सामग्रीलाई जेठ २० गतेसम्म निरन्तरता दिने भएको छ। महानगरले बन्दाबन्दी शुरु भएयता सुत्केरी भएकालाई घ्यू, हर्लिक्स, तेल र नगद रु ५०० उपलब्ध गराउँदै आएको छ।

महानगरले शुरु गरेको प्रसूति सेवा र मिर्गौलापीडित बिरामीलाई प्रदान गरेको निःशुल्क एम्बुलेन्स सेवालाई पनि जेठ २० गतेसम्म निरन्तरता दिने निर्णय गरेको समितिका सदस्य सचिव किरण कोइरालाले जानकारी दिए।

महानगरले नगरवासीको स्वास्थ्य सेवालाई ध्यान दिँदै एम्बुलेन्स खरिद गर्ने भएको छ । कोरोना सङ्क्रमण नियन्त्रण मूल समितिको बैठकले महानगरले सञ्चालन गर्ने गरी एउटा एम्बुलेन्स खरिद गर्न पोखरा महानगर कार्यपालिकालाई सिफारिस गर्ने निर्णय भएको उपप्रमुख गुरुङले बताए।

हाल सञ्चालनमा रहेका एम्बुलेन्स मध्ये दुई वटा कोरोना सङ्क्रमितका लागि मात्रै सञ्चालन गर्ने र अरु एम्बुलेन्स अन्य रोगका बिरामीलाई प्रयोग गर्ने निर्णय गरेको छ।

पोखरा महानगरले कोरोना सङ्क्रमणको उच्च जोखिम र आगामी दिनहरुमा सङ्क्रमण फैलिन नदिन कास्की जिल्लाबाहेक अन्य स्थानबाट तरकारी तथा फलफूल भित्रिन नदिन आवश्यक पहलका लागि महानगरलाई सिफारिस गर्ने निर्णयसमेत गरेको छ। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *