अक्सफोर्डको वैज्ञानिक टिमका प्रमुखले नै आधा घटाइदिए भ्याक्सिनको आशा, फैलियो निराशा

डिसी नेपाल
१२ जेठ २०७७ ११:०१

काठमाडौं। सबैभन्दा धेरै आशा गरिएको कोरोनाभाइरस भ्याक्सिनको विकासकर्ता वैज्ञानिक टिमका प्रमुखले नै यो भ्याक्सिनको आशा आधा घटाइदिएका छन् । बेलायतको अक्सफोर्ड विश्वविद्यालयको भ्याक्सिनमाथि सबैभन्दा धेरै आशा टिकेको थियो । सुरुवातमा यो भ्याक्स्नि विकासकर्ता वैज्ञानिक यति धेरै विश्वस्त थिए कि बेलायत सरकारसहितका केही कम्पनीले यो भ्याक्सिनको परीक्षण पूरा नहुँदै उत्पादन नै सुरु गर्नका लागि ठूलो लगानी गरेका थिए ।

अहिले केही स्थानहरुमा यो भ्याक्सिनको उत्पादन नै सुरु भइसकेको अवस्थामा यो भ्याक्सिनको विकासकर्ता टिमका प्रमुख डा. एड्रियन हिलले यो भ्याक्सिन बन्ने आशा आधा घटाइदिएका छन् । बेलायती अखबार टेलिग्राफका अनुसार अक्सफोर्डको कोरोना भ्याक्सिन विकासकर्ता टिमको नेतृत्व गरिरहेका वैज्ञानिक हिलले भनेका छन् कि भ्याक्सिनको ट्रायल सफल हुने आशा ५० प्रतिशत मात्र छ ।

अक्सफोर्ट विश्वविद्यालयको जेनर इन्स्टिच्युटका निर्देशक डा. एड्रियन हिलले भनेका छन् कि आगामी ट्रायलमा १० हजार स्वयंसेवकलाई सहभागी गराइनेछ । तर, हुन सक्छ कि कुनै पनि नतिजा नआउला किनकि बेलायतमा तीब्र गतिमा कोरोनाका केसहरु घटिरहेका छन् र संक्रमण दरमा पनि कमी आइरहेको छ । एड्रियन हिलले भनेका छन् कि यो गायब भइरहेको भाइरस र समयको साथमा दौड लगाउनु जस्तै हो । हिलले अहिले आफूहरुलाई कुनै परिणाम प्राप्त नहुने ५० प्रतिशत आशंका भएको बताए ।

अक्सफोर्ड युनिभर्सिटीले चाडोक्स १ एनसीओभी १९ नामको भ्याक्सिन विकास गरिरहेको छ । विश्वभरमा यस्तो मानिएको छ कि यो भ्याक्सिन अन्य भ्याक्सिनको तुलनामा अगाडि छ । एड्रियन हिलको टिमले अप्रिलमै मानिसहरुमा प्रारम्भिक परीक्षण सुरु गरेको थियो । विश्वभरमा यति छिटो मानवमा परीक्षण सुरु गर्ने भ्याक्सिन निकै कम छन् । जनवरीमा एउटा सानो ल्याब प्रोजेक्टको रुपमा यो भ्याक्सिनको काम सुरु गरिएको थियो जतिबेला चीनमा मात्र कोरोनाका केस आएका थिए ।

४ महिनापछि भने भाइरस संक्रमण विश्वभरी यसरी फैलियो कि बेलायत मात्र नभइ पूरै विश्वको ध्यान यही भ्याक्सिनमा केन्द्रित छ । यही हप्ता एस्ट्राजेनेका नामक औषधी कम्पनीले अक्सफोर्ड भ्याक्सिनको ४० करोड डोज तयार गर्नको लागि अमेरिकासँग १.२ बिलियन डलरको सम्झौता गरेको छ । बेलायत सरकार पनि यो भ्याक्सिनको १० करोड डोजको लागि रकम दिन तयार भएको छ । बेलायती नागरिकले आफ्नो लागि सेप्टेम्बरसम्म ३ करोड डोज भ्याक्सिन तयार हुने आशा गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *