सबैभन्दा पहिले कोभिड–१९ को जीनोम डिकोड गर्ने ‘ब्याट वुमन’ भाइरोलोजिस्टको डरलाग्दो बयान

डिसी नेपाल
१३ जेठ २०७७ १२:५८

काठमाडौं। चीनकी प्रमुख भाइरोलोजिस्ट शी जेंगलीले नयाँ भाइरसको आक्रमणको सिलसिला भर्खरै सुरु भएको र कोरोनाभाइरस त्यसको सुरुवात मात्र भएको चेतावनी दिएकी छिन् । शी जेंगली उनै वैज्ञानिक हुन् जसले विश्वमै सबैभन्दा पहिले कोभिड १९ को जीनोम डिकोड गरेकी थिइन् । चीनकी ब्याट वुमनको लामबाट चिनिने उनलाई डिसेम्बर ३० मा वुहानका बिरामीबाट संकलित नमूना परीक्षणका लागि बोलाइएको थियो । जसको तीन दिनमै उनले यो भाइरसको जीनोम सिक्वेन्सिङ गरिसकेकी थिइन् ।

चीनको सरकारी मिडिया चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सीजीटिएन)सँग कुरा गर्दै उनले कोरोनाभाइरस केवल एक ‘सानो केस’ र समस्याको सुरुवात मात्र भएको बताएकी छिन् । चीनको वुहान इन्स्टिच्युट अफ भाइरोलोजीकी डिप्टी डाइरेक्टर शी जेंगलीले सीजीटिएनसँग कुरा गर्दै नयाँ भाइरसका विषयमा चेतावनी दिएकी हुन् । डेलीमेलका अनुसार जेंगलीले चमेरामा पाइने ब्याट कोरोना भाइरसको विषयमा अनुसन्धान गरिसकेकी छिन् । यही कारण उनलाई ब्याट वुमन पनि भनिन्छ ।

जेंगलीले भाइरसका विषयमा जो रिसर्च गरिन्छन् त्यस विषयमा सरकार र वैज्ञानिकहरु पारदर्शी हुनुपर्छ । उनले विज्ञानको राजनीतिकरण गरिनु निकै दुखद कुरा भएको बताइन् । सीजीटिएनसँगको कुराकानीमा जेंगलीले भनिन् ‘यदि हामी मानिसहरुलाई अर्को संक्रामक रोगबाट बचाउन चाहन्छौं भने हामीले जीवहरुमा पाइने अज्ञात भाइरसका विषयमा पहिले नै जानकारी जुटाउनु पर्छ र यसबारे चेतावनी दिनु पर्छ ।’

शी जेंगलीले भगाडि भनिन् ‘यदि हामीले अज्ञात भाइरसका विषयमा अध्ययन गरेनौं भने फेरि अर्को संक्रमण फैलिन सम्भव छ ।‘ शी जेंगलीको यो अन्तरवार्ता यस्तो समयमा प्रसारण भएको छ जतिबेला चीनका प्रमुख नेताहरुको वार्षिक बैठक सुरु हुन लागेको छ । अर्कोतर्फ विश्वका कैयौं देशले चीनको वुहानस्थित प्रयोगशालालाई शंकाको नजरले हेरिरहेका छन् ।

शी जेंगली चीनका प्रमुख भाइरोलोजिस्टमध्येकी हुन् र उनी १६ वर्षदेखि विश्वको एक पुस्ताले नै नदेखेका डरलाग्दा महामारीसँग लड्नको लागि तयार भएकी छिन् । चीनको वुहानकी यी भाइरोलोजिस्ट ती ‘ब्याट वुमन’ वैज्ञानिक हुन् जसले यो भाइरसको पहिलो केस देखिएको केही दिनमै यो भाइरसको ‘जीन सिक्वेन्स’ पत्ता लगाएकी थिइन् । तर, त्यतिबेला उनलाई उनको उल्लेखनीय खोज विश्वसामु ल्याउनबाट अल्मल्याइयो र उनको खोजी भित्रै दबियो । उनी विश्वका शीर्ष अनुसन्धानकर्ता मध्येकी एक हुन् जसले चमेराका गुफामा सार्सजस्ता दर्जनौं प्राणघातक भाइरसको बारेमा खोजी गरिसकेकी छिन् ।

उनले डिसेम्बरको अन्त्यमा वुहानमा फैलिएको त्यतिबेला रहस्यमय श्वास प्रश्वास सम्बन्धी रोगका बिरामीहरुको नमूनाको अध्ययन गरेकी थिइन् र यो भाइरस सार्ससँग मिल्दोजुल्दो भएको तथ्य पत्ता लगाएकी थिइन् । यसलाई नोभेल कोरोनाभाइरसको रुपमा पहिचान गरियो । त्यसको तीन दिनमै उनले यसको जीन सिक्वेन्सिङको प्रक्रिया पूरा गरेकी थिइन् र उनले यसको ९६ प्रतिशत प्रकृति युनानमा पाइने चमेरामा हुने भाइरससँग मिल्ने पत्ता लगाएकी थिइन् । उनले ३ दिनमै गरेको यो जीन सिक्वेन्सिङको प्रक्रियालाई महिना र कुनै कुनै अवस्थामा वर्षसम्म लाग्न सक्छ ।

डेलिमेलको रिपोर्ट अनुसार चिनियाँ अधिकारीहरुले सुरुमा यो भाइरस भेटिएकोबारे बाहिरी विश्वलाई सूचना लुकाउने प्रयास गर्दा उनको यो खोजी पनि लुकाइएको थियो जुन धेरै पछि उजागर भएको थियो । चिनियाँ पत्रकार गाओ युले डेलिमेलसँग कुरा गर्दै वुहानमा लकडाउनका बेला आफूले शीसँग भेटेको र शीले आफ्नो खोजीलाई दबाइएको बताएको उल्लेख गरेका छन् । पत्रकार गाओले अगाडि भने ‘हामीलाई पछि थाहा भयो कि उनको इन्ष्टिच्युटले यसको जीन सिक्वेन्सिङ र अन्य सम्बन्धित परीक्षण जनवरी २ भन्दा पहिल्यै सकिसकेका थिए तर उनीहरुलाई अल्मल्याइएको थियो ।’

जीन सिक्वेन्सिङको यो जानकारी एक हप्ता पछिसम्म पनि सार्वजनिक गरिएको थिएन । अहिले यही जानकारीलाई विश्वभरी भाइरसको उपचार र भ्याक्सिनको खोजीका लागि प्रयोग गरिँदैछ र यो खोजीको लागि समयसँग प्रतिस्पर्धा भइरहेको छ । जेंगलीका लागि यो खोजी उनको १६ वर्षभन्दा लामो समयको कामको उच्चतम प्रतिफल हो जसले उनलाई आफ्नो क्षेत्रमा विश्वकै अग्रणी वैज्ञानिकमध्ये एक बनाएको छ । तर जब यी भाइरोलोजिस्टलाई गएको डिसेम्बर ३० मा पहिलो बिरामीको नमूना परीक्षणका लागि बोलाइयो, उनी भन्छिन् उनलाई थाहा थियो कि उनी आफ्नो सबैभन्दा खराब सपनासँग लड्नुपर्नेछ । अनि जेंगलीलाई अर्को डर पनि थियो – के त्यो भाइरस उनले काम गर्ने ल्याबबाट दुर्घटनावश बाहिरिएको थियो ?

१६ वर्षसम्म चमेरासँग काम गर्ने क्रममा जेंगलीले जनावरबाट कोरोनाभाइरस मानिसमा सर्ने जोखिममा रहेका केही क्षेत्रको पहिचान गरेकी थिइन् तर ती स्थानमध्येमा देशको बीचमा रहेको वुहान भने थिएन । उनले भनिन् ‘मैले अपेक्षा गरेकी थिइन कि यस्तो किसिमको घटना चीनको बीचमा, वुहानमा हुन सक्छ । मैले त्यतिबेला सोचेको सम्झिन्छु – के यो भाइरस हाम्रो ल्याबबाट आएको थियो ?’ त्यतिबेला जेंगली वुहानबाहिर एक सम्मेलनमा थिइन् जहाँ उनलाई त्यो डरलाग्दो फोन कल आएको थियो जसले पूरै विश्वको स्थिति नै बदलिदियो ।

अस्पतालमा भर्ना भएका २ जना बिरामीमा असामान्य किसिमको निमोनिया देखिएको थियो । वुहान सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनलाई जेंगलीको विशेषज्ञताको आवश्यकता परेको थियो ताकि यो भाइरस सार्वजनिक स्वास्थ्यको लागि खतरनाक जोखिम हुन सक्छ कि सक्दैन भन्ने थाहा पाउन सकियोस् । उनका निर्देशकले उनलाई जेसुकै गरिरहेको भए पनि तत्काल छोड्न र यो नयाँ भाइरसबारे काम सुरु गर्न भनेका थिए । यो निर्देशनसँगै उनी तत्कालै ट्रेनमा वुहानस्थित ल्याब आएकी थिइन् ।

जेंगली र उनको टिमले यो भाइरसको जेनेटिक कोड पत्ता लगाउन दिनरात नभनी काम गरेका थिए । जेंगली त्यो टिमकी सदस्य थिइन् जसले सार्स भाइरसका विषयमा काम गरिरहेको थियो । सार्सको महामारीभन्दा अगाडि पूरै विश्व कोरोनाभाइरस परिवारबारे अनभिज्ञ थियो तर २००२ मा सार्स महामारीपछि विश्वले यसबारे अनुसन्धान र यसको संक्रमण रोक्ने अभियान सुरु गरेको थियो । जेंगली यही सुरुवाती टिमकी सदस्य थिइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *