इटलीका शीर्ष डाक्टरहरुले भने – ‘कोरोनाभाइरस कमजोर हुँदै गइरहेको छ’

डिसी नेपाल
२० जेठ २०७७ १२:००

काठमाडौं। कोरोनाभाइरसको बढ्दो संक्रमणका बीच राहतपूर्ण समाचार आएको छ । इटलीका शीर्ष डाक्टरहरुले कोरोनाभाइरसले विस्तारै आफ्नो क्षमता गुमाउँदै गइरहेको बताएका छन् । उनीहरुले अब कोरोनाभाइरस पहिलेजस्तो प्राणघातक नरहेको बताएका छन् । डाक्टरहरुका अनुसार कोरोनाभाइरस अब कमजोर भइसकेको छ । जेनोआको सेन्ट मार्टिनो अस्पतालमा संक्रामक रोगका प्रमुख डा. मेट्टेओ बासेट्टीले यो जानकारी समाचार एजेन्सी एएनएसएलाई दिएका हुन् ।

डा. मेट्टेओले भने ‘कोरोनाभाइरस अब कमजोर भइरहेको छ । यो भाइरसमा अब त्यो क्षमता बाँकी छैन जस्तो क्षमता सुरुका २ महिनामा थियो । स्पष्ट रुपले अहिलेको कोभिड १९ रोग अलग छ ।’ लोम्बार्डीको सेन राफेल अस्पतालका प्रमुख अल्बर्टो जांग्रिलोले आरएआइ टिभीसँग भने ‘वास्तवमा भाइरस क्लिनिकली रुपमा अब इटलीमा छैन । विगत १० दिनमा लिइएका स्वाब नमूनाबाट थाहा हुन्छ कि एक वा २ महिना पहिलेको तुलनामा अब यिनीहरुमा भाइरस लोड निकै कम छ ।’

इटली कोरोनाभाइरसबाट सबैभन्दा धेरै प्रभावित देशहरुमध्ये एक हो । यो रोगबाट मृत्यु हुनेको संख्याका आधारमा इटली तेस्रो स्थानमा छ । मे महिनामा भने यहाँ नयाँ संक्रमण र मृत्युको संख्यामा तीव्र रुपमा कमी आएको छ । यसँगै यहाँ कैयौं स्थानहरुमा गरिएको कडा लकडाउन खोलिँदैछ । डा. जांग्रिलोले भने ‘केही विशेषज्ञ संक्रमणको अर्को लहरको सम्भावनालाई लिएर निकै चिन्तित थिए । तर, देशका नेताहरुले वास्तविकतालाई ध्यानमा राख्नुपर्छ ।’

इटलीको सरकारले नागरिकलाई सावधानी अपनाउन आग्रह गर्दै अहिल्यै कोरोनाभाइरसमाथि जीतको दावी गर्नु हतार हुने बताएको छ । स्वास्थ्य मन्त्री सेन्ड्रा जम्पाले एक बयानमा भनिन् ‘कोरोनाभाइरस समाप्त भएको विषयमा बोल्नको लागि लम्बित रहेका वैज्ञानिक प्रमाणको सहारा लिइएको छ । म उनीहरुसँग भन्न चाहन्छु इटलीका नागरिकलाई भ्रमित नपारियोस् । यसको सट्टा हामीले नागरिकलाई अधिक सावधानी अपनाउने, शारीरिक दूरी कायम राख्ने, भीडमा नजाने, पटक पटक हात धुने र मास्क लगाउन भन्नुपर्छ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *