विवादस्पद अभिव्यक्ति दिएका एन्फा अध्यक्षले मागे माफी

डिसी नेपाल
२२ जेठ २०७७ १६:२२

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले आफ्नो विवादस्पद अभिव्यक्तिका लागि माफी मागेका छन् । झन्डै दुई साताअघि एन्फा अध्यक्ष शेर्पाले एक वेब पोर्टललाई दिएको अन्तर्वार्तामा ग्रासरुट कार्यक्रमका विषयमा बोल्ने क्रममा तराईमा राष्ट्रियताको कमी रहेको बताएपछि विवादमा परेका थिए । नेपाली सेनासँगको सहकार्यमा तराईका चार जिल्ला (सप्तरी, सिराहा, धनुषा र महोत्तरी) मा ग्रासरुटको कार्यक्रम सुरु गरेको बताउने क्रममा शेर्पाले राष्ट्रियताको प्रसंग उठाएपछि उनको भनाइले विवादित मोड लिएको थियो ।

शेर्पाले बुधबार एक विज्ञप्ति जारी गर्दै अन्तर्वार्ताको क्रममा आफूबाट व्यक्त शब्दावलीबाट नेपाली दाजुभाइ तथा दिदीबहिनी एवं त्यस क्षेत्रका नेपालीहरुमा कुनै चोट वा ठेस पुग्न गएकोमा त्यसप्रति हार्दिक क्षमायाचना गरेका छन् । विज्ञप्तिमा उनले भनेका छन्, ‘अनलाइन अन्तर्वार्ताका क्रममा व्यक्त भावनाभन्दा पनि शाब्दिक अर्थमा मात्रै धेरै ध्यान दिइएको छ । तर, मेरो अभिप्राय तथा भावना कुनै पनि भाषा, वर्ग, धर्म लिंग तथा सम्प्रदायको नेपालीको राष्ट्रियतामा प्रश्न गर्ने थिएन र कदापि होइन पनि ।’

सोही विषयमा जेठ १४ गते सांसद विमलप्रसाद श्रीवास्तवले एन्फा अध्यक्ष शेर्पालाई कारबाही गर्न संसद्मा माग गरेका थिए । ‘एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले नेपाली समाजमा विभेदको बीजारोपण गरेको बुझिएको छ ।’ सांसद श्रीवास्तवले भनेका थिए, ‘उनले मधेसीहरूलाई सेनाको माध्यम लगाएर राष्ट्रिय गान सिकाउँदै छु भन्नेजस्ता अभिव्यक्ति दिएका हुनाले त्यस्ता अभिव्यक्ति दिने ती जिम्मेवार व्यक्तिलाई छानबिन गरी आवश्यक कारबाही गर्न सभामुखमार्फत माग गर्दछु ।’ एन्फाअन्तर्गत नै रहेका ४ जिल्ला फुटबल संघ (काठमाडौं, ललितपुर, भक्तपुर र धादिङ) का अध्यक्षले संयुक्त रूपमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई एन्फा अध्यक्ष शेर्पालाई कारबाही गर्न माग गरेका थिए ।

हेर्नुहोस् विज्ञप्ति

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *