१२ सांसद : कोही बाथरुममा लडेकोले संसद्मा आउन पाएनन्, आएका पनि पखाला लागेर हिँडे !

डिसी नेपाल
३२ जेठ २०७७ ९:१५

काठमाडौं। प्रतिनिधिसभामा संविधान संशोधन विधेयकमाथि दफावार छलफल भइसकेपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री डा.शिवमाया तुम्बाहाङ्फेले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ लाई पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेकी थिइन् ।

त्यसपछि सभामुखले संविधान संशोधनमा हस्ताक्षर गर्ने प्रक्रियाबारे सदनलाई जानकारी गराएका थिए।

हस्ताक्षर प्रक्रिया सुरु गर्नुअघि सांसदलाई हलभित्र बोलाउन पाँच मिनेटसम्म विभाजन घन्टी बजाइएको थियो । विभाजन घन्टी बन्द भएपछि हलका ढोकाहरू बन्द गरिएको थियो।

प्रस्तावका पक्षमा रहने सांसदका लागि सभामुख आसनको दायाँतिर रहेको उपकक्ष लबीमा प्रवेश गरी त्यहाँ राखिएको नामावलीमा दस्तखत गर्नुपर्ने थियो । प्रस्तावको विपक्षमा रहने सांसदले सभामुखको आसनको बायाँतर्फ रहेको उपकक्ष लबीमा प्रवेश गरी त्यहाँ राखिएको नामावलीमा दस्तखत गर्नुपर्ने थियो।

प्रस्तावमा मत दिन्नँ भन्ने पक्षमा रहेका सांसदका लागि सभामुखको पछाडिपट्टि रहेको उपकक्ष लबीमा राखिएको नामावलीमा दस्तखत गर्नुपर्ने व्यवस्था थियो ।

सबै सांसद सभामुख आसनको दायाँतर्फको लबीमा गएर हस्ताक्षर गरे । विपक्षमा वा मतदान गर्दिनँ भन्ने लबीतर्फ कोही पनि गएनन् । कुनै सांसदले आफ्नो मत सच्याउन चाहेमा मतदान सकिएको तीन मिनेटभित्र माग गरेमा सच्याउन दिने सुविधा पनि थियो । तर, कोही पनि सांसदले आफ्नो मत सच्याउन चाहेनन् ।

यसरी सांसदहरूले हस्ताक्षर गरेर संविधान संशोधन प्रस्तावलाई पारित गरे । प्रतिनिधिसभाका कुल दुई सय ७५ सांसदमध्ये दुई सय ५८ जनाले दस्तखत गरेको संसद् सचिवालयले बताएको छ ।

दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा चारजना सांसद निलम्बनमा छन् । बालुवाटार जग्गा प्रकरणमा विजयकुमार गच्छदार, बम विस्फोट काण्डमा मोहम्मद अफताब आलम, ठेक्का प्रकरणमा हरिनारायण रौनियार र कैलाली घटनामा रेशम चौधरी निलम्बनमा छन् । मत बराबरी नभएसम्म सभामुखले मतदानमा भाग नलिने परम्परा छ ।

प्रतिनिधिसभाका दुई सय ७१ सदस्यमध्ये संसद्मा १२ जना सांसद अनुपस्थित रहेको संसद् सचिवालयको बताएको छ । संसद्मा अनुपस्थित रहेका सांसदमध्ये धेरैले बिरामी भएर आफू आउन नसकेको बताएका खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

नेकपाका हरिबोल गजुरेल, शिवकुमार मण्डल, गोपालबहादुर बम, धनबहादुर बुढा, कांग्रेसका सूर्यबहादुर केसी, नागेन्द्रकुमार, ज्ञानकुमारी छन्त्याल, राजपाका अमृतादेवी अग्रहरि, दुलारीदेवी खत्वेनी, प्रमोद साह, समाजवादीका सरिता गिरी, सूर्यनारायण यादवले हस्ताक्षर गरेनन् ।

नेकपा सांसद हरिबोल गजुरेलले बाथरुममा लडेर यताउता हिँडडुल गर्न नसक्ने अवस्थामा रहेको बताए । ‘म बाथरुममा लडेर घाइते छु त्यसकारण जान पाइनँ । हिँडेर चलमल गर्न सक्ने अवस्था पनि छैन । आजको ऐतिहासिक अवसरमा सहभागी हुन नपाएकोमा दुःखी छु,’ उनले भने ।

समाजवादीका सांसद सूर्यनारायण यादवले परिवारको सदस्य बिरामी भएर आफू अचानक गृहजिल्ला सप्तरी आउनुपरेको बताएका छन् । ‘अपर्झट परेपछि शुक्रबार राति काठमाडौंबाट गृहजिल्ला आइपुगेँ । कुनै राजनीतिक कारणले होइन, पारिवारिक समस्याले संसद्मा उपस्थित हुन पाइनँ । अपर्झट भएकाले पार्टीलाई पनि जानकारी गराउन सकिनँ,’ उनले भने ।

राजपा सांसद प्रमोद साह पनि आफू बिरामी परेकाले जिल्लातिर आराम गरिरहेको बताउँछन् । सर्लाहीका सांसद साहले भने, ‘शरीर अस्वस्थ भएकाले जिल्लातिर आएको ५–६ दिन भइसक्यो । अहिले तत्काल फर्किने अवस्था छैन । सुगरलगायत अरू रोग पनि छ । त्यसकारण अलि समय आराम गर्नुपर्र्यो भनेर काठमाडौं छाडेको हुँ,’ उनले भने, ‘पार्टीबाट शुक्रबार फोन आएको थियो । सन्चो नभएका कारण आउन सक्छु कि सक्दिनँ भनेँ । तर, आउन सकिनँ ।’

नेकपा सांसद गोपालबहादुर बम पनि यहीवेला बिरामी परे । ‘घाँटीको इन्फेक्सन भएको छ । संसद्मा धेरै चर्को बोलेर यस्तो भएको हो कि ! अन्तर्वार्ता पनि दिएँ । धेरै बोलेका कारणले हुन सक्छ,’ उनले भने, ‘म संसद् आउन सक्दिनँ भनेर सचेतकलाई जानकारी दिएको थिएँ । एक भोटका कारण नतिजा तलमाथि पर्ने भएको भए म जसरी पनि उपस्थिति हुन्थेँ । तर, त्यस्तो थिएन । त्यसैले गइनँ ।’

कांग्रेस सांसद सूर्यबहादुर केसी पोखरामै बसेको थुप्रै भइसक्यो । कोरोना महामारी बढेपछि उनी पोखरातिरै छन् । ‘म त पोखरा आएको धेरै समय भयो । कोरोनाका कारण स्वास्थ्य जोखिममा हुन्छ भनेर म यताउता पनि निस्किएको छैन । यो महामारीमा काठमाडौं आउन सम्भव पनि भएन,’ उनले भने ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *