गत वर्षको मार्चमै बार्सिलोनामा थियो कोरोनाभाइरसः अध्ययन

डिसी नेपाल
१४ असार २०७७ १०:५९

काठमाडौं। कोरोनाभाइरसको उत्पत्तिसम्बन्धी अध्ययनका क्रममा यो भाइरसको गत वर्ष २०१९ को मार्चमै स्पेनको बार्सिलोनामा पहिचान गरिएको पाइएको छ । यो अनुसन्धान कुनै जर्नलमा प्रकाशित भइसकेको छैन तर वैज्ञानिकहरुले मार्च २०१९ मा स्पेनको बार्सिलोनामा फोहर पानीमा यो भाइरस भेटिएको पत्ता लगाएका छन् । अध्ययनमा चीनको वुहानमा कोरोनाभाइरस भेटिनुभन्दा पहिल्यै स्पेनमा यो भाइरस पाइएको उल्लेख छ ।

न्यूयोर्क टाइम्सका अनुसार अध्ययनको निष्कर्षको स्वतन्त्र जाँच गर्ने विशेषज्ञहरुले भने वैज्ञानिकको यो दावीमा सन्देह भएको बताएका छन् । उनीहरुले गरिएको अध्ययन पूर्ण रुपमा सटिक नदेखिएको बताएका छन् । अहिलेसम्म विश्वले २०१९ को डिसेम्बरमा चीनको वुहानमा भाइरस देखिएको र त्यसको २ महिनापछि फेब्रुअरी २०२० मा स्पेनमा यो संक्रमण फैलिएको विश्वास गरिरहेको छ । यद्यपि बार्सिलोनामा यो भाइरस भेटिएकोबारे अर्को थ्योरी पनि छ ।

बार्सिलोना एक पर्यटकीय शहर हो र यहाँ चीनबाट ठूलो संख्यामा पर्यटकहरु आउँछन् । चीनबाट यसरी बार्सिलोना पुगेका पर्यटकसँगै भाइरस पनि त्यहाँ पुगेको हुन सक्ने पनि मानिएको छ । त्यतिबेलै बार्सिलोनामा यो संक्रमण पुगेको भए पनि विश्वलाई यसबारे जानकारी नभएको र चीनमा संक्रमण फैलिएर यसको पहिचान भइसकेपछि मात्र स्पेनमा पनि यसको पहिचान गरिएको हुन सक्ने पनि मानिएको छ ।

बार्सिलोनामा भाइरोलोजी विश्वविद्यालयमा माइक्रोबायोलोजी विभागका प्रोफेसर एल्ब्रट वाशले विगत ४० वर्षदेखि फोहर पानीमा उत्पन्न हुने किटाणुहरुको अध्ययन गरिरहेका छन् । उनी भन्छन् ‘बार्सिलोनामा ठूलो संख्यामा चिनियाँहरुलाई देखिन्छ । उनीहरुबाटै बार्सिलोनाको पर्यटन उद्योग चल्छ । हुन सक्छ उनीहरुसँगै यो भाइरस यहाँ आएको थियो । त्यसलाई त्यतिबेला गम्भीरतापूर्वक लिइएन जसको पछि भयावह परिणाम देखियो ।’

अनुसन्धानमा सहभागी नभएका कैयौं विशेषज्ञहरुले यो अनुसन्धानमा कैयौं कमीबारे बताएका छन् । यस किसिमका अध्ययनमा धेरै विशेषज्ञहरुलाई सहभागी गराइन्छ, उनीहरुको राय लिइन्छ र त्यसको प्रकाशन पत्रिकामा हुन्छ । अहिलेसम्म यो अध्ययनमा यस्तो गरिएको छैन । वैज्ञानिकहरुले नमूनाको दूषित र अनुचित भण्डारणका कारण परीक्षणमा गल्तीहरु हुने भएकोले यही कारण बार्सिलोनामा कोरोनाभाइरस पहिल्यै थियो भनेर भनिएको हुन सक्ने आशंका पनि व्यक्त गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *