इजरायल र साइप्रसमा कोरोनाका कारण अफ्ठ्यारोेमा परेका नेपालीलाई शुक्रबार स्वदेश फर्काइँदै

डिसी नेपाल
१५ असार २०७७ १२:३७

काठमाडौैँ । कोरोना संक्रमणबाट सिर्जित असहज परिस्थितिका कारण इजरायल र साइप्रसमा समस्यामा परेका नेपालीहरुलाई आउँदो शुक्रबार स्वदेश फर्काइने भएको छ । उनीहरुलाई ३ जुलाइ शुक्रबार कतार एयरलाइन्सको चार्टर्ड जहाजमार्फत स्वदेश फर्काउन लागिएको इजरायलको तेल अबिबमा रहेको नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार यसअघि ३० जुनमा हुने भनिएको नेपाल एयरलाइन्सको उडान रद्द भएपछि साइप्रसका लागि ३ जुलाइमा हुन लागेको कतार एअरलाइन्सको उडानमार्फत नै इजरायलबाट स्वदेश फर्कने नेपालीहरूलाई समेत फर्काउने गरी दूतावासले आवश्यक व्यवस्था मिलाएको हो ।

जसअनुसार ३ जुलाइ शुक्रबार बिहान १०:१५ मा इजरायलको उडानमार्फत नेपालीहरुलाई इजरायलबाट साइप्रस पुर्याइनेछ ।, बिहान ११३० मा साइप्रस पुग्ने एअरलाइन्सले नै लगेज कतार एयरवेजको विमानमा ट्रान्सर्फर गर्नेछ । कतार एयरवेजको उक्त चार्टर्ड जहाजले लार्नाका अन्तर्राष्ट्रिय विमानस्थलबाट दिउँसो २ बजे दोहा हुँदै काठमाडौँका लागि उडान भर्नेछ ।

दूतावासले प्राथामिकतामा परेका दुबै देशमा रहेका नेपालीको सूची यसअघि नै सार्वजानिक गरिसकेको जनाएको छ । सूचीमा नाम भएकाहरुले आवश्यक तयारी गरी १ जुलाइ बुधबारसम्म टिकट बुकिङ गर्नका लागि दूतावासले अनुरोध गरेको छ । साइप्रसबाट काठमाडौँका लागि चार्टर्ड जहाजको भाडादर ७३० अमेरिकी डलर रहेको दूतावासले जनाएको छ ।

दूतावासका अनुसार इजरायको उडान टर्मिनल ३ बाट हुनेछ। इजरायलबाट हुने उडान चार्टर्ड नभइ व्यवसायिक उडान भएकोले यसको टिकट चाँडै बुकिङ गर्न दूतावासले अनुरोध गरेको छ । साइप्रस सम्मको उक्त टिकट काटिसकेपछि मात्रै कतार एयरवेजको टिकट लिनको लागि इजरायलबाट फर्किने नेपालीहरुलाई दूतावासले सुझाएको छ ।

यसरी स्वदेश फर्किने यात्रुहरुले बढीमा ७ दिन अगाडि परीक्षण भएको कोभिड संक्रमण मुक्त प्रमाण (पिसिआर वा आरडिटि टेस्ट नेगेटिभ) साथमा राख्नुपर्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *