बिहीबार विभिन्न देशबाट थप १२ सय ४२ नेपाली स्वदेश आइपुगे

डिसी नेपाल
१८ असार २०७७ १८:४७

काठमाडौँ । कोरोनाका कारण विभिन्न देशमा समस्यामा परेका नेपाली फर्काउन बिहीबार पनि ८ वटा उडान भएका छन् । बिहीबार विभिन्न एयरलाइन्सका ८ वटा उडानमार्फत १ हजार २ सय ४२ नेपाली स्वलेश फर्किएको त्रिभुवन अन्तराष्ट्रिय कार्यालयले जनाएको छ ।

विमानस्थल कार्यालयका अनुसार नेपाल एअरलाइन्सको जहाजमार्फत कुवेतबाट २५५ जना र साउदी अरबको जेद्दाबाट २२२ जना स्वदेश फिर्ता भएका छन् । त्यस्तै हिमालय एयरलाइन्सले पनि २ वटा उडान भरेको छ । हिमालय एयरलाइन्सको उडानमार्फत माल्दिभ्सको मालेबाट १ बच्चासहित १०५ जना र साउदीको दमामबाट १५२ नेपाली स्वदेश फर्किएका छन् । दमामबाट आएको उक्त जहाजले २ जना मृतक नेपालीको शव पनि ल्याएको छ ।

यस्तै मलेसियाको क्वलालम्पुरबाट १६२ जना नेपाली स्वदेश आइपुगेका छन् । उनीहरु मलिन्दो एयरको उडानमार्फत स्वदेश आएका हुन् ।

बिहीबार नै कुवेतमा आममाफी पाएका ३२० जना नेपाली स्वदेश आएका छन् । उनीहरु जजिरा एयरको २ वटा उडानमार्फत स्वदेश आएका हुन् । त्यस्तै बंगलादेशको ढाकाबाट पनि २६ जना नेपाली स्वदेश फर्किएका छन् । ढाकाबाट श्री एयरलाइन्सले उडान भरेको थियो । यो जहाजले नेपालबाट फर्कँदा २६ जना लिएर गएको छ ।

सरकारले कोरोना संक्रमणका कारण विभिन्न मुलुकमा अलपत्र परेका नेपाली नागरिकलाई स्वदेश फर्काउने निर्णय गरेसँगै विभिन्न मुलुकमा रहेका नेपाली कामदार स्वदेश फर्किने क्रम जारी छ। शुक्रबार पनि विभिन्न देशबाट अलपत्र नेपाली फर्कदैँछन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *