निर्दोषलाई बली चढाएको भन्दै बर्खास्तमा परेका जर्नेलको आक्रोश

डिसी नेपाल
२१ असार २०७७ ७:०५

काठमाडौंं। केही दिनअघिमात्र बर्खास्त भएका नेपाली सेनाका जर्नेल सुरेन्द्रसिंह रावलले “आफ्नो लोकप्रियताका खातिर निर्दोषलाई बली चढाएको” आरोप नेतृत्वलाई लगाएका छन् ।

शनिबार विहान सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै उनले नेतृत्वप्रति आक्रोश पोख्दै सत्य र असत्यबीच भेद गर्न कोसिस नगरेको र कर्मबीर छद्म भेपाीहरुबीच फरक छुट्याउन नसकेको आरोप पनि लगाएका छन् ।

उनले आफ्नो फेसबुक पेजमार्फत सार्वजानिक गरेको सो धारणामा कहीं कतै प्रधान सेनापतिको पद वा प्रधानसेनापतिको नाम उल्लेख गरेका छैनन् तर उनले सोही अर्थ आउने गरी ‘नेतृत्व’ भनेका छन् ।

उनले नेतृत्वलाई आफ्नो सफलताप्रतिको अशक्तिले निर्दोषलाई दोषी बनाइएको भन्दै आफू निर्दोष भएको र आफूमाथिको कारवाही कर्मबीरमाथिको कारवाही भएको भन्दै बचाउ गरेका छन् ।

“ए नेतृत्व” शीर्षकमा कविता लेख्दै उनले आफूमाथिको कारवाही अन्यायपूर्ण भएको जिकिर गरेका हुन् । कवितामा उनले चाकडी चाप्लुसीमा निर्लिप्त हुनेहरुको कुरा सुनेको, प्रतिष्पर्धामा जित्न नसकी हत्कण्डा अपनाउनेहरु र भ्रमलाई सत्यमा परिणत गर्ने वरिपरि रहेकाहरुबाटै नेतृत्वमाथि(सेनापति) कलंक पोत्ने काम भएको जिकिर गरेका छन् । उनले कवितामै नेतृत्वलाई सोधेका छन्,“न्याउरी मारी पछुतो भयो भएन थाहा भएन ।”

गतबर्ष हालकै सेनापति पूर्णचन्द्र थापाले उनलाई वार कलेजका लागि अमेरिकाको पेन्सिलभेनियास्थित युएस नेशनल डिफेन्स युनिभर्सिटीमा पठाएका थिए । जर्नेल रावल नेपाली सेनाभित्र निकै योग्य अधिकृतमा गनिन्छन् ।

सेनापतिमा थापा आइसकेपछि उनको निर्देशनअनुसार, नीति निर्माण गर्ने काममा रावलले निकै ठूलो योगदान दिएको बताइन्छ । रावलले क्यारेवियन मुलुक हैटीमा रणनीतिक योजनाकारका रुपमा काम गरिसकेका छन् भने सिभिल मिलिट्री रिलेसन्स एण्ड पिसकिपिंगमा पनि उच्च अध्ययन गरेका छन् ।

जुनको दोस्रो सातामात्र अमेरिकाको सैनिक विश्वविद्यालयबाट वारकलेज ग्राजुएट भएका रावल जुन २४ तरिखको उद्धार उडानबाट नेपाल फर्किएका थिए । उनी नेपाल पुग्दा उनको बारेमा सैनिक अदालतमा मुद्धा अन्तिम अवस्थामा पुगेको र अदालतले सैनिक अनुशासन उल्लंघन गरेको आरोपमा बर्खास्त गर्ने फैशला सुनाएको थियो ।
समाचारअनुसार, उनले सेनापतिले लिखितरुपमा दिएको आदेशका विरुद्ध कीर्ते गरी अर्कै काम गरेको आरोप लगाइएको छ।

उनीसँगै कर्णेल अनील खड्का पनि बर्खास्तगीमा परेका थिए। नीति निर्देशनालयमा गतबर्ष प्रमुख भई काम गर्दा खड्काले तयार गरेको कागजातमा जर्नेल रावलले हस्ताक्षर गरेको विषय नै बर्खास्तगीमा पर्ने आधार बनेको बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *