भर्चुअल लघुकथा गोष्ठीमा कथाकारहरु

डिसी नेपाल
२१ असार २०७७ १२:०९

काठमाडौं। लघुकथा समाज नेपालले विशेष लघुकथा गोष्ठीको भर्चुअल आयोजना गरेर देश विदेशमा रहेका स्रष्टाहरूलाई एकै ठाउँमा रचना वाचन गर्ने वातावरण बनाएको छ।

शनिबार साँझ ६ बजेदेखि बेलुकी साँढे ७ बजेसम्म आयोजना गरिएको विशेष लघुकथा गोष्ठीको प्रारम्भमा सहजकर्ता छविरमण सिलवाल र समाजका अन्तर्राष्ट्रिय संयोजक कृष्ण बजगाईले विश्वका कुनाकुनामा रहेका नेपाली लघुकथाकारहरूलाई एकै ठाउँमा ल्याउने प्रयत्नस्वरुप यो काम भएको बताउँदै नेपाली साहित्यमा यसले विशेष महत्व राख्ने उल्लेख गरे ।

कार्यक्रमको सुरुआतमा स्रष्टा यादव खरेलले मृत्यु शास्वत सत्य भएको सन्देश प्रवाहित गर्ने ‘मरण’ शीर्षकको मर्मस्पर्शी लघुकथा वाचन गरे । अर्का साहित्यकार अशेष मल्लले ‘लघुकथा’ शीर्षकमा चोटिलो लघुकथा वाचन गरे भने हाल अमेरिकामा रहँदै आएका साहित्यकार तथा गायक हिरण्य भोजपुरेले ‘भुइँचालो’ शीर्षकको लघुकथा वाचन गरे ।
पोखरामा रहेका साहित्यकार सरुभक्तले ‘प्रमिथस्त मान्छेहरू’ शीर्षकको लघुकथा सुनाए । उनले प्रस्तुत लघुकथामा आफूले प्रमिथस मिथलाई पुनरलेखन गरेको बताए।

कार्यक्रममा कथाकार भागीरथी श्रेष्ठले ‘दृष्टिकोण’, विधान आचार्यले ‘कुरुवा’, किशोर पहाडीले ‘जीवनको पराजय’, नारायण तिवारीले ‘न रिसाउनु होला’ शीर्षकको लघुकथा वाचन गरे ।

त्यसैगरी भारत मणिपुरका देवीप्रसाद थापाले ‘संविधान’, दार्जीलिङका एगम पाख्रिनले ‘फेसबूकमा’, अमेरिकाका विश्वराज अधिकारीले ‘जनता के भेँडा हुन् ?’, क्यानाडाका कुसुम ज्ञवालीले ‘राष्ट्रवादी’, मलेसियाका राजु क्षेत्री अपुरोले ‘ठूलो मान्छे’, बेलायतका कृष्ण बजगाईले ‘महँगीको हत्या’, धर्म सापकोटाले ‘निर्मलीको चिया पसल’ र डा. कपिल लामिछानेले नयाँ अवतरण’ शीर्षकको लघुकथा वाचन गरे ।

लघुकथा समाजको कार्यसमितिका तर्फबाट सुमन सौरभले लघुकथा वाचन गरे ।  कार्यक्रममा प्राडा लक्ष्मणप्रसाद गौतमले वाचन गरिएका लघुकथाहरू माथि समीक्षात्मक टिप्पणी गरे ।

उनले वाचन गरिएका १७ वटा लघुकथा सबैले समाज, जीवन, दर्शन र मनोविज्ञानलाई समेटेको उल्लेख गर्दै लघुकथाको भावभूमि, शैली र कथ्यको चर्चा गरे ।  लघुकथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठले भर्चुअल रुपमा नै भए पनि समाजले काम गरिरहेको बताउँदै यसलाई निरन्तरता दिने बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.