प्रधानमन्त्री ओलीले शासन गर्ने नैतिकता गुमाउनु भयो : काँग्रेस
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मां ओलीले शासन गर्ने नैतिकता गुमाएको बताएको छ। भगवान रामचन्द्रको जन्मभूमिबारे प्रधानमन्त्रीले दिएको अभिव्यक्तिपछि काँग्रेसको यस्तो प्रतिक्रिया आएको हो। काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘प्रधानमन्त्रीको अभिव्यक्ति नेपाल सरकार र नेकपाको मत होइन भने शासन गर्ने नैतिक र राजनैतिक आधार उहाँले गुमाएको थप पुष्टि हुन्छ।’
काँग्रेसले भनेको छ, ‘देशको प्रधानमन्त्रीका अभिव्यक्तिहरुले नेपाल देश र सम्बन्धित दलको प्रतिनिधित्व गर्दैनन् भने प्रधानमन्त्री पद ब्यक्तिको जमिन्दारी कि देशको जिम्मेवारी ?’
काँग्रेसले आजको परिस्थितिमा प्रधानमन्त्रीको दायित्व एकातर्फ, ब्यवहार अर्कातर्फ हुनु देशका लागि दुर्भाग्य भएको बताएको छ। काँग्रेसले देशको नयाँ नक्सा जारी गर्नुलाई प्रधानमन्त्री ओली सत्ता राजनीतिका लागि व्यक्तिगत हतियारमात्र बनाएकोसमेत आरोप लगाएको छ। काँग्रेसले नक्सा जारीपछि भारतसँग वार्ताको पहलकदमी गर्नुपर्नेमा अयोध्याबारे अभिव्यक्ति दिएर वार्ताप्रति गम्भीर नभएकोसमेत आरोप लगाएको छ।
काँग्रेसले प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्तिबारे सरकार र नेकपाको संस्थागत धारणा सार्वजनिक गर्न माग गरेको छ।

No ads found for this position

डिसी नेपाल
Facebook Comment