लकडाउनका कारण होस्टेल व्यवसाय धराशायी, सय बढी बन्द ३ सय जोखिममा [भिडियाे]

डिसी नेपाल
१ साउन २०७७ १४:४८

काठमाडौं। लकडाउनका कारण राजधानीको होस्टेल व्यवसायसमेत संकटमा परेको छ । प्रायः विद्यार्थीहरु ग्राहक हुने यो व्यवसाय शिक्षण संस्थाहरु बन्द भएसँगै संकटमा छ । यसबाहेक होस्टेलको सेवा उपयोग गर्ने अन्य व्यक्तिहरु पनि सबै राजधानीमा छैनन् । अर्कोतर्फ सरकारले घरधनीलाई घरभाडा छुट दिन अपिल गरे पनि घरधनीले भाडा छुट नदिँदा होस्टेल संचालकहरु भाडा तिर्न नसकेकै कारण पलायन हुनु परेको छ ।

लकडाउनको झण्डै ४ महिना पुग्दा पनि शिक्षण संस्थाहरु खुलेका छैनन् । र, तत्कालै खुल्ने सम्भावना पनि देखिएको छैन । तत्कालै व्यवसाय सुचारु हुने सम्भावना सकिँदै गएपछि व्यवसायीहरुले पनि विस्तारै होस्टेल बन्द गर्न थालेका छन् । गएको ४ महिनामै ठूलो नोक्सानी व्यहोरिसकेका उनीहरुले अझै व्यवसाय सुचारु राखेर थप नोक्सानीमा पर्नुभन्दा व्यवसायबाटै पलायन हुने मनस्थितिमा पुगेको बताएका छन् ।

लकडाउनको झण्डै ४ महिनाको अवधिमा काठमाडौंमा मात्रै १ सय भन्दा बढी होस्टेल बन्द भएका र ३ सयको हाराहारीमा होस्टेलहरु बन्द हुने अवस्थामा पुगेको नेपाल होस्टेल व्यवसायी संघका अध्यक्ष भक्ति पाठक बताउँछन् । स्वयम अध्यक्ष पाठकको होस्टेलसमेत बन्द भएको छ । सरकारले होस्टेल व्यवसायीलाई मद्दत नगर्ने हो भने, अर्बौंको क्षति हुने निश्चित छ ।

नयाँ बानेश्वरको बुद्धनगरमा मात्रै ७० वटा भन्दा बढी होस्टेल बन्द भएको बुद्धनगरमै होस्टेल संचालन गर्दै आएका व्यवसायी ऋषिराम श्रेष्ठ बताउँछन् । उनी भन्छन्, ‘बुद्धनगरमा मात्रै ७० वटा भन्दा बढी होस्टेल बन्द भइसकेको जानकारी पाएको छु । अझै यस्तै अवस्था रहने हो भने हामी पनि पलायन हुन बाध्य हुनेछौं ।’ उनी अगाडि थप्छन्, ‘कतिपयले घरबेटीहरुसँग भाडा छुट गर्ने विषयमा कुरा नमिलेपछि घर छाडेर गएका छन् । हाम्रो घरबेटीले ५० प्रतिशत छुट दिएकाले अहिलेसम्म टिकेका छौं । नभए हामीले पनि छोड्नुपर्ने अवस्था आउँथ्यो ।’

घरबेटीले घरभाडामा छुट नदिएको र लकडाउन जारी रहेको अवस्थामा कतिपय होस्टेल संचालकहरु डिप्रेसनमासमेत जान थालेको बताउँछन् । बबरमहलमा होस्टेल संचालन गर्दै आएकी तथा नेपाल होस्टेल एसोशिएसनकी सल्लाहकारसमेत रहेकी मनिता देवान अहिले आफू डिप्रेसनमा जाने अवस्था आएको बताउँछिन् । उनी भन्छिन्, ‘अहिले होस्टेलमा १ जना मान्छे पनि छैनन् । २ जना काम गर्ने कर्मचारी छन् उनीहरुलाई आफैसँग राखेर बसिरहेकी छुँ । न लकडाउन खुल्छ, न घरबेटीले भाडामा छुट दिन्छन् । अब त डिप्रेसनमा जाने अवस्था आइसक्यो ।’

मनिता देवान बबरमहलमा २ वटा होस्टेल संचालन गर्दै आएकी छिन् । २ वटा छुट्टा छुट्टै घर भाडामा लिएर होस्टेल संचालन गर्दै आएकी उनलाई एउटा घरबेटीले भाडा छुट नदिएपछि उनले आधा घर खाली गरेकी छिन् । र, लामो समय लकडाउन भए होस्टेल नै बन्द गर्ने सोचमा पुगिसकेकी छिन् ।

कतिपय होस्टेल संचालकहरु लकडाउनअघि नै घर गएको र घरबेटीले भाडामा छुट नदिए लकडाउन खुलेपछि पनि फर्किएर नआउने कतिपय होस्टेल व्यवसायीहरुको विश्लेषण छ । घरबेटीले भाडामा छुट नदिए आएर भाडा तिर्नुभन्दा सामान छोडेर नयाँ व्यवसाय संचालन गर्न सहज हुने नाम नखुलाउने शर्तमा एक व्यवसायीले बताए । ‘भएको सामानको मूल्यभन्दा भाडा बढी हुन्छ, सामान नै छाड्दा फाइदा हुन्छ’ उनले भने ।

सरकारले उनीहरुलाई बेवास्ता गरेको उनीहरुको भनाइ छ । थापा गाउँमा होस्टेल संचालन गर्दै आएका व्यवसायी राज शर्मा भन्छन्, ‘सरकारसँग हाम्रो ठूलो अपेक्षा पनि छैन । हाम्रो सरकार आर्थिक रुपमा बलियो पनि छैन । त्यसैले सरकारले होस्टेल संचालकहरुलाई ऋण लिन सहज बातावरण बनाइदिए पुग्छ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *