नेकपामा सहमतिको प्रयास विफल, त्रिपक्षीय छलफल निष्कर्षमा पुग्न सकेन

डिसी नेपाल
१ साउन २०७७ १४:४२

काठमाडौं। शुक्रबार बस्ने स्थायी कमिटी बैठकको पूर्वसन्धयामा नेकपा शीर्ष नेताबीच भएको छलफल बिना निष्कर्ष टुंगिएको छ। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल तथा वरिष्ठ नेता माधव नेपालबीच छलफल भएको थियो।

विभिन्न विषयमा छलफल भएपनि कुनै निष्कर्ष ननिस्किएको नेताहरुले बताएका छन्। ‘विभिन्न समसामयिक विषयमा शीर्ष नेताहरुबीच छलफल भएको थियो,’ प्रधानमन्त्रीको सचिवालय स्रोतले भन्यो, ‘तर ठोस निष्कर्ष निस्किएको छैन।’

असार १० गतेबाट सुरु भएको नेकपा स्थायी कमिटी बैठकमा बहुमत सदस्यले प्रधानमन्त्रीको राजीनामा मागेपछि नेकपाभित्रको विवाद चुलिएको छ। प्रधानमन्त्री ओलीले आफूले कुनै पनि हालतमा राजीनामा नदिने अडान लिएका छन् भने दाहाल– नेपाल पक्षधरले ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्ने दबाव दिँदै आएका छन्।

‘अब दुई अध्यक्षबीच नै बसेर सबै विवादित विषयलाई टुंगो लगाउनुस भनेर हामीले भनेका छौं,’ स्थायी कमिटी सदस्य सुवास नेम्वाङले डिसी नेपालसँग भने, ‘मिलेर जानुको विकल्प छैन।’

पार्टीभित्रका विवाद समाधान गर्ने भन्दै दैनिक जसो अध्यक्षद्वयबीच छलफल भएपनि सहमति हुन नसक्दा जारी स्थायी कमिटी बैठक प्रभावित हुँदै आएको छ। शुक्रबार ११ बजेलाई बैठक बोलाइएको छ। बैठक बस्नु अघि नै सहमति खोज्न नेताहरुबीच छलफल भएपनि सहमति हुन सकेको छैन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *