ट्विटर ह्याक प्रकरणः एफबीआईले अनुसन्धान गर्दै
बीबीसी । अमेरिकामा सङ्घीय जाँच ब्यूरो (एफबीआई)ले बिटक्वाइन काण्डको झल्को आउनेगरी बुधवार भएका चर्चित व्यक्ति एवम् अन्तर्राष्ट्रिय कम्पनीका ट्विटर खातामा भएका ह्याकिङ अनुसन्धान सुरु गरेको छ।
त्यसअघि न्यूयोर्क राज्यका गभर्नर एन्ड्रू कोमोले राष्ट्रपति चुनाव हुने समय आइरहँदा भएको उक्त घटना प्रजातन्त्रको लागि गम्भीर खतरा भएको भन्दै सरकारी निकायहरूलाई अनुसन्धानको आदेश दिएका थिए।

ट्विटरको आन्तरिक प्रणालीमार्फत् साइबर अपराधीहरूको सन्देश कम्तीमा ३५ करोड मानिसहरूसम्म पुगेको थियो। आक्रमणकारीको निसानामा परेर दुरुपयोग गरेका यी सबै ट्विटर खातालाई दशौँ लाख मानिसले पछ्याएका छन्।
आक्रमणबाट प्रभावित हुनेमा पूर्वराष्ट्रपति बराक ओबामा, राष्ट्रपतिका लागि डेमोक्र्याटिक उम्मेदवार जो बाइडन, अर्बपतिहरू जेफ बेजोस, एलन मस्क, बिल गेट्स, माइकल ब्लूम्वर्ग तथा र्यापर कान्ये वेस्ट पनि छन्।
ऊबर र एपलजस्ता संस्था पनि ह्याकरहरूको तारोमा परेका थिए। तिनका धेरैजसो खातामा प्रेषित ट्वीटमा मानिसहरूलाई क्रिप्टोकरेन्सीको रूपमा चन्दा दिन भनिएको थियो। केही समयभित्र थुप्रैले त्यसो गरेका पनि थिए।
ट्वीट लेखेर केही बेरमै मेटाइए पनि त्यस बीचमा झन्डै १,१०,००० डलर बराबरको रकम जम्मा भएको थियो। आफ्नो आन्तरिक प्रणालीमा पहुँच भएका कर्मचारीलाई सफलतापूर्वक निसानामा पारेपछि त्यस्तो आक्रमण भएको ट्विटरले जनाएको छ।
त्यस घटनालाई गोपनीयता, विश्वास र सुरक्षामाथिको अनपेक्षित आक्रमणको रूपमा हेरिएको छ। तर विज्ञहरूले ह्याकरहरूले त्यसको दुरुपयोग गरेर अझ बढी क्षति पुर्याउन सक्थे भनेका छन्।

छोटा सन्देशहरू राखिने यो सामाजिक सञ्जालका प्रमुखले ह्याकरहरूको लोभका लागि धन्यवाद ईश्वर भनेका छन्। तर ट्विटरका प्रमुख ज्याक डोर्सीले घटनालाई ट्विटरका लागि कठिन दिन बताएका थिए।
धेरैले यसको प्रभाव ट्विटरका लागि मात्र नभएर समग्र सामाजिक सञ्जालमै पर्ने चेतावनी दिएका छन्। विश्व आर्थिक मञ्चका साइबर प्रमुख विलीअम डिक्शन भन्छन्, ‘ट्विटरको प्रतिष्ठा नै यस प्रकरणले चुकाएको मूल्य हो।’
‘विश्वभरिका सोशल मिडिया प्रयोगकर्तालाई सुरक्षित राख्न यस प्रणालीमै पुरानै स्वरूपमा ल्याउन थप प्रयास आवश्यक छ।’ अमेरिकी राष्ट्रपतीय निर्वाचन हुन अब चार महिनाजति मात्र बाँकी हुँदा मतदानमा हुने प्रभावका लागि के ट्विटरलाई विश्वास गर्न सकिन्छ भन्ने प्रश्न समेत प्रश्न उठेको छ।
यो आक्रमणमा राष्ट्रपति ट्रम्पको ट्विटर खाता भने प्रभावित भएको थिएन। तर डेमोक्र्याटिक पार्टीका उम्मेदवार जो बाइडनको खाता दुरुपयोग हुनुलाई धेरैले चासोपूर्वक हेरेका छन्।
Here’s an update addressing questions we’ve heard around passwords and account access specifically:
— Twitter Support (@TwitterSupport) July 16, 2020
‘हामी सबैलाई थाहा छ कि रुस सन् २०२० को चुनावमा सन् २०१६ मा जसरी हस्तक्षेत गर्न चाहन्छ,’ किङ्स कलेज लन्डनका डा. हिथर विलीअम्सले भने। ‘सामाजिक सञ्जालको दुरुपयोग गर्नु उनीहरूको एउटा प्रिय बाटो हो। यस ह्याकिङ प्रकरणले अमेरिकीहरू कसरी गलत सूचनाको जोखिममा छन् भन्ने देखाएको छ।’
ट्विटर विश्वका सबैभन्दा शक्तिशाली र प्रभावशाली मानिसहरूमाझ लोकप्रिय सामाजिक सञ्जाल बनेको छ। अमेरिका, जापान, रुस र यूकेमा ट्विटर निकै लोकप्रिय छ।
त्यहाँ उनीहरूका अभिव्यक्तिको प्रभावले आर्थिक बजारमा पर्नुका साथै तिनले कूटनीतिक हलचल समेत ल्याएका छन्। सन्देशहरू पठाइने सेवा एलिमन्टका प्रमुख कार्यकारी यस हमलामा संवेदनशील व्यक्तिगत विवरणहरू चुहिएको हुनसक्ने बताउँछन्। म्याथ्यू हक्सन भन्छन्, ‘अर्को पटक संवेदनशील विवरणलाई चलाएमा त्यसले धम्की, असुली वा अझ बढ्ता नराम्रो अवस्था आउन सक्छ।’







डिसी नेपाल







Facebook Comment