कोरोनाभाइरस: तोडियो सबै रेकर्ड, १ डलरको मूल्य २ लाख ५५ हजार ३ सय रियाल !

डिसी नेपाल
४ साउन २०७७ १५:५३
16
Shares

काठमाडौं। कोरोनाभाइरस महामारीका कारण इरानी रियालको मूल्यमा भारी गिरावट आएको छ । गैर आधिकारिक बजारमा इरानी रियालको मूल्यमा सबै रेकर्ड तोडिएको छ । शनिबार अन्तर्राष्ट्रिय मुद्राको ब्ल्याक मार्केटमा इरानी रियाल र डलरको सटही मूल्यमा सबै रेकर्ड ध्वस्त भएको हो । अमेरिकी प्रतिबन्ध र कोरोनाभाइरसको भयानक महामारीका कारण यस वर्ष इरानी रियालको मूल्यमा झण्डै ५० प्रतिशत गिरावट आएको हो ।

अन्तर्राष्ट्रिय मुद्रा सटहीसम्बन्धी वेबसाइट बोनबास्ट डटकमका अनुसार शुक्रबार एक डलरको मूल्य २ लाख ४२ हजार ५ सय रियाल थियो । यो मूल्य शनिबार बढेर २ लाख ५५ हजार ३ सय रियाल पुगेको छ । आर्थिक अखबार दुनिया ए एक्तेसादका अनुसार इरानको गैर आधिकारिक बजारमा शनिबार एक डलरको मूल्य २ लाख ५२ हजार ३ सय रियाल पुगेको थियो जबकि शुक्रबार यो मूल्य २ लाख ४१ हजार ३ सय रियाल थियो ।

२०२० मा इरानी रियालको मूल्यमा लगभग ४८ प्रतिशत गिरावट आएको छ । तेलको मूल्यमा गिरावट र विश्वव्यापी अर्थव्यवस्थामा मन्दीका कारण इरानको अर्थव्यवस्था नराम्रोसँग प्रभावित भएको छ । मध्यपूर्वमा कोरोनाको सबैभन्दा धेरै असर पनि इरानमै परेको छ । यहाँ सबैभन्दा धेरै संक्रमित भएका छन् र मध्यपूर्वमा मृत्यु पनि यहाँ नै सबैभन्दा बढी भएको छ ।

इरानलाई डलरको सबैभन्दा बढी आवश्यकता औषधि खरिदको लागि पर्ने गर्छ । इरानको आधिकारिक बजारमा पनि डलरको मूल्य ४२ हजार रियाल छ । २०१८ को मे महिनामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको परमाणु सम्झौता समाप्त गरेका थिए र पुनः नयाँ प्रतिबन्ध लगाएका थिए । इरानका राष्ट्रपति हसन रुहानीले रियालको मूल्यमा भारी गिरावटको लागि निर्वातकर्ताहरुलाई जिम्मेवार भनेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *