ब्रिटिश प्रधानमन्त्री भन्छन्–कोरोनाभाइरसको विषय हामीले फरक ढङ्गले काम गर्न सक्थ्यौँ

डिसी नेपाल
१० साउन २०७७ १७:१३

बीबीसी । ब्रिटेनका प्रधानमन्त्री बोरिस जोन्सनले उनको सरकारले सुरुका केही साता तथा महिनाहरूमा कोरोनाभाइरस महामारीको प्रकृतिबारे बुझ्न नसकेको स्वीकारेका छन्। बीबीसीलाई दिएको एक अन्तर्वार्तामा उनले लकडाउन लागु गर्न कतै ढिलाइ त गरिएन भन्ने प्रश्नको जबाफ भने स्पष्ट भइनसकेको बताए।

‘मलाई लाग्छ हामीले सुरुमा बुझ्न नसकेको एउटा मुख्य कुरा चाहीँ लक्षणविहीन रूपमा कसरी एकजनाबाट अर्कोमा यो भाइरस फैलिरहेको थियो भन्ने हो।’
बीबीसीकी राजनीतिक सम्पादक लरा क्युन्सबर्गसँग कुरा गर्दै उनले सिक्नुपर्ने पाठहरू रहेको र आफ्ना मन्त्रीहरूले फरक ढङ्गले काम गर्न सक्थे भनेका छन्।

विपक्षी लेबर दलले सरकारमाथि सङ्कटको व्यवस्थापन राम्ररी गर्न नसकेको आरोप लगाएको छ। यसअघि ब्रिटिश सरकारले सही समयमा सही निर्णय लिइएको बताउँदै आएको थियो। हालसम्म ब्रिटेनमा कोरोनाभाइरस सङ्क्रमणका कारण ४५,००० भन्दा धेरै मानिसको ज्यान गइसकेको छ। यो सङ्ख्या युरोपेली देशहरूमध्ये सबैभन्दा धेरै हो।

त्यहाँ तीन लाखभन्दा धेरै सङ्क्रमित पाइएका छन्। प्रधानमन्त्री जोन्सन स्वयंपनि कोरोनाभाइरसबाट सङ्क्रमित भएका थिए। उनको सघन कक्षमा उपचार गर्नु परेको थियो। गत साता प्रधानमन्त्री जोन्सनले महामारीसँग जुध्न अपनाइएका योजना तथा कार्यका बारे छानबिन गरिने तर त्यो छानबिन अधिकारीहरू तथा स्वास्थ्य सेवाहरू भाइरस विरुद्ध लडिरहेको अहिलेकै समयमा भने नगरिने बताएका थिए।

यूकेमा मार्च महिनाको अन्त्यतिर पूर्ण लकडाउन लागु गरिएको थियो। आलोचकहरूका अनुसार त्यो निकै ढिलो लगाइयो र त्यसका कारण धेरै ज्यान गयो। त्यसबारे जोन्सनले भनेका छन्, ‘शायद हामीले फरक ढङ्गले काम गर्न सक्थ्यौँ। तर के काम हामीले कसरी फरक ढङ्गले गर्न सक्थ्यौँ भन्नेबारे बुझ्न समय आउनेछ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *