अमेरिकी राजदूतको जुँगाका कारण दक्षिण कोरियामा हंगामा

डिसी नेपाल
१२ साउन २०७७ १९:४६

सियोल (एजेन्सी)। कसैको जुँगाका कारण राजनीति तथा कुटनीतिक तनाव हुन सक्छ भन्ने अनुमान गर्न सामान्यतया सकिँदैन। तर, जुँगाकै कारण कुटनीति क्षेत्रमा तनाव हुन्छ भन्ने एक उदाहरण बनेका छन् एक अमेरिकी कूटनीतिज्ञ।

दक्षिण कोरियाका लागि अमेरिकी राजदूत ह्यारी ह्यारिस जुँगाका कारण दक्षिण कोरियामा विवादित बनेका छन्। अमेरिका र दक्षिण कोरियाबीच सैन्य सम्बन्ध छ। दक्षिण कोरियामा २८ हजार ५ सय अमेरिकी सेना तैनाथ छन्। यी दुई मुलुकबीच पछिल्ला दिनहरुमा विवाद उत्पन्न भएको छ। उत्तर कोरिया नीति र अमेरिकी सेनाको खर्चका विषयमा यी दुई मुलुकबीच विवाद भइरहेको छ।

विगत दुईवर्षदेखि सियोलमा रहेका अमेरिकी राजदूत ह्यारिस विवादको केन्द्रमा छन्। उनले जथाभावी काम गरेको आरोप लाग्ने गरेको छ। ह्यारिस सन् २०१८ मा सियाल पुगेदेखि नै विवादमा छन्। र सो विवादको कारण उनको जुँगा हो। अमेरिकी सेनाको अधिकारीसमेत रहिसकेका ह्यारिसको जुँगाले दक्षिण कोरियाली आत्मसम्मानमा ठेस पुगेको कोरियालीहरुको बुझाई छ। जुँगाका कारण विवादमा तानिएका ह्यारिसले हालै जुँगादाह्री काटेको एक भिडियो सामाजिक सञ्जालमा शेयर गरेका छन्। अब जुँदाको विवाद सकिने अपेक्षा गरिएको छ।

जुँगाको विवादसँग जोडिएको विषय हो जापान। १९१० देखि १९४५ सम्म कोरियामा जापानको उपनिवेश थियो। र त्यसबेलाका सबै आठवटै गभर्नरको ह्यारिसको जस्तै जुँगा थियो। र ह्यारिसको सम्बन्ध जापानसँग पनि छ। ह्यारिस जापानी आमा र अमेरिकी बाबुका छोरा हुन्। त्यसैले पनि उनको जुँगा विवादमा परेको थियो। अझैसम्म पनि दक्षिण कोरियालीहरुमा जापानबारे सकारात्मक भाव छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *