चीन र भारतबीच कुनै नयाँ केमेस्ट्री बन्न सक्छ?

डिसी नेपाल
२९ साउन २०७७ २०:४१

नयाँ दिल्ली (एजेन्सी)। भारत र चीनबीच सीमा समस्या लामो समयदेखि जारी छ। सीमाकै विषयलाई लिएर चीन र भारतबीच एक पटक युद्ध भइसकेको छ भने पटक पटक सीमा क्षेत्रमा झडपहरु पनि हुँदै आएका छन्।

गएको जुन १५ मा गलवान उपत्यकामा चिनियाँ र भारतीय सेनाबीच भएको हिंस्रक झडपमा कम्तिमा २० जना भारतीय सैनिक मारिए। १९६२ को युद्धपछि सीमा क्षेत्रमा चिनियाँको आक्रमणमा परी यति धेरै भारतीय सैनिक मारिएको जुन १५ को घटना पहिलो थियो।

सीमा क्षेत्रमा भएको हिंस्रक झडपछि दुबै मुलुकले सीमा क्षेत्रमा सेनाको संख्या बढाएका छन् भने सैन्य कूटनीतिक वार्ता पनि जारी राखेका छन्। सैन्य कूटनीतिक वार्तामा कुनै ठोस प्रगति नभएपछि बुधबार बेइजिङस्थित भारतीय राजदूत विक्रम मिसरीले चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका महत्वपूर्ण सदस्य लियू चियानचाओसँग भेटवार्ता गरेका छन्।

भारतीय विश्लेषकहरुले यो भेटवार्तालाई भारत–चीन सम्बन्ध सुधारमा नयाँ आयम हुने बताएका छन्।

बीबीसी हिन्दीका अनुसार भारतीय विश्लेषकहरुले यो भेटवार्तालाई निकै महत्वपूर्ण भनेका छन्। उनीहरुले यसप्रकारको भेटवार्ताले सीमा समस्याबारे कूटनीतिक स्तरमा वार्ताको वातावरण बनाउने अपेक्षा गरेका छन्। भारतीय सैनिक मारिएपछि उत्पन्न भएको तनाव केहीहदसम्म शान्त भए पनि सीमा क्षेत्रमा दुबै मुलुकले एकअर्कामाथि संरचनाहरु बनाएको आरोप लगाउन छोडेका छैनन्।

३४ सय किलोमिटर लामो सीमामा दुई देशबीच अन्तर्राष्ट्रि सीमा रेखा भने छैन। तर, सीमा छुट्याउनका लागि लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) बनाइएको छ। जसले दुईदेशलाई अलग गर्छ। त्यसैले दुबै देशले त्यहाँ आ आफ्नो किसिमको दावी गर्दै आएका छन्।

भारत र चीनबीच कुटनीतिक स्तरमा सीमाका विषयमा वार्ता भए सीमा समस्या समाधान हुन सक्ने भारतीय र चिनियाँ विश्लेषकहरुको विश्वास छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.