फर्किन पाएनन् हजारौँ नेपाली
काठमाडौं। कोरोना महामारीका कारण विदेशमा अलपत्र परेका अधिकांश नेपाली कामदार स्वदेश फर्किन पाएका छैनन्। सरकारले फर्काउन चासो नदेखाउँदा उनीहरू श्रम गन्तव्य मुलुकमै बिचल्लीमा परेका हुन्।
एक अध्ययनअनुसार वैदेशिक रोजगारीमा रहेका ४ लाख ७ हजार नेपालीले रोजगारी गुमाएका छन्। साउन ३१ गतेसम्म ५५ हजार जना मात्रै स्वदेश फर्किन पाएका छन्। तीमध्ये २५ प्रतिशत वैदेशिक रोजगारबाहेक अन्य प्रयोजनमा गएका रहेको जनाइएको छ।
सरकारले पछिल्लो समय दैनिक ५ सय जना मात्रै फर्काउने रणनीति लिएको छ। जसअनुसार दैनिक ३ सय जना मात्रै कामदार फर्किन पाउँछन्। बाँकी २ सय कूटनीतिक नियोगतर्फका छन्। जब कि नियमित उडान हुँदा दैनिक १ हजार ५ सयभन्दा बढी फर्किंदै आएका थिए।
आप्रवासी श्रमिकसम्बन्धी अनुसन्धानकर्ता रामेश्वर नेपाल सरकारको यस्तो रणनीतिले कामदार बिचल्लीमा पर्ने बताउँछन्। ‘स्वदेश फर्किन चाहेका कामदार उतै रोकिएका छन्’, नेपाल भन्छन्, ‘सरकारको तयारी हेर्दा कामदार फर्काउन वर्र्षौं लाग्ने देखिन्छ।’ चार्टर्ड उडान संख्या बढाउँदै लैजानुपर्नेमा घटाएर सरकार उल्टो बाटोमा हिँडेको उनको भनाइ छ। ‘यसले कामदारको जीवन र स्वास्थ्य संकट गहिरिँदै जान्छ।’
परराष्ट्र मन्त्रालयले हालै ५ लाख ८७ हजार नेपाली कोभिडबाट प्रभावित भई फर्काउनुपर्ने अवस्थामा रहेको जानकारी दिएको थियो। वैदेशिक रोजगार व्यवसायी संघले कोभिडका कारण ५–६ लाखसम्म कामदार फर्किन सक्ने अध्ययन प्रतिवेदन सार्वजनिक गरेको थियो।
वैदेशिक रोजगार बोर्डका अनुसार खाडी र मलेसियाबाट मात्रै ४ लाख ७ हजार कामदार स्वदेश फर्किन आतुर छन्। मलेसिया र खाडीमा २ लाख ८० हजार कामदारले रोजगारी गुमाएका छन्। भिसाको म्याद सकिएका र आममाफी पाएका १ लाख २७ हजार जना स्वदेश फर्किन चाहेको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment