ठेकेदारी योगदान

डिसी नेपाल
७ भदौ २०७७ ११:२४
16
Shares

अचेल सडक, पुल, विद्युतगृह, ठूला खानेपानी आयोजना, ठूलाठूला भवन निर्माण, ठूला सिंचाइ आयोजना, ठूलाठूला मर्मत सम्भार आदिआदि जस्ता आयोजना परियोजनाहरु समयमै सम्पन्न गर्न र सोमार्फत विकास निर्माण कार्यमा अघि सर्न मरिमेटेर लागि परेका माथिल्लो तहका ठेकेदारहरुले टेन्डर हालेर सफल भेन्डरको रुपमा आफूलाई स्थापित गर्दै अनि सोमार्फत आयोजनाको बजेटमाथि चर्दै आएका छन्।

राजधानीका सडक, राजधानी बाहिरका मुख्यमुख्य राजमार्गहरु, दक्षिणको हुलाकी सडक, अरु अति सामरिक महत्वका सडकहरु, मेलम्ची खानेपानी आयोजना, महत्वपूर्ण विद्युत गृहहरु आदि सबै नै यस्ता अतिजिम्मेवारी बोध भएका र देश हितकै मार्गबाट अगाडि गएका राष्ट्रिय अन्तर्राष्ट्रिय निर्माण कम्पनीहरुबाट समयमै समाप्त हुने तर्खरमा छन् रे भन्ने पनि जनताले भर्खर मात्रै थाहा पाए।

यति सक्षम, सहयोगी, जन हितैषी र परोपकारी ठेकेदारहरु प्रति जनताको अपार श्रद्धा जागेको र त्यस्ता ठेकेदारलाई त सबै मिलेर अभिनन्दन गर्नु पर्ला भन्ने सबैलाई लागेको छ। जसरी भएपनि ठेक्का लिनै पर्ने र ठूलो वा क बर्गको ठेकेदार हौं भनेर गफ दिनै पर्ने रोगले ग्रस्त हुँदाहुँदै पनि समयमै काम सम्पन्न नहोला भनेर ज्यादै त्रस्त रहने गरेकोमा सबै जना खुसी छन्। यस्ता होनहार बफादार र दमदार ठेकेदारहरुले ठूलाठूला योजना, आयोजना र परियोजनाहरुका काम पाए पछि धेरै छिटै नै देशको नाम समृद्ध राष्ट्रको रुपमा चम्कने अनि आर्थिक रुपमा फड्को मारेर छिटै नै लम्कने निश्चित छ।

ठेकेदारकै कारण कतिपय मुख्य सडकहरुको साथै मेलम्ची खानेपानी र धेरै महत्वपूर्ण परियोजनाहरु लामो समयसम्म अपूरा अधुरा अवस्थामा रहेर सर्वसाधारणले अनाहकमा दुख पाए र खानसम्मको हण्डर खाए भनेर जतासुकै गुनासो मात्रै सुनिन्छ। अब केही नपाएर समयमा काम पूरा नगर्ने र आफूले गरेको कबुल अनुसार काम गर्न लागि नपर्ने ठेकेदारहरुलाई कानुन अनुसार पक्राउ गरी कारबाही गर्ने भन्ने खबर पाउँदा जनता ज्यादै दुखी भएका छन्।

उनीहरुलाई यसरी जनभावना बिपरित कारबाही गर्दा कुनै पनि किसिमबाट रीत नपुग्ने हुनाले यसबाट कसैको पनि हित नहुने र कारबाही गर्नेको जित हुन नसक्ने पक्का छ। तोकिएको मिति भित्र सिध्याउने कबुल गरे पनि वा भिन्न कारणले रोकिएको अवस्थामा त्यस्तालाई कानुनी कारबाही ठोकिएको त जनतालाई पनि चित्त नबुझ्ने विषय नै पर्यो।

देशको कार्यकारी प्रमुखदेखि तल्लो तहसम्मको लाई हात लिएपछि र दिनु पर्नेलाई चित्त बुझ्ने गरी दिए पछि बाँकी सबै आफ्नै भइहाल्यो। अनि त मुड चल्यो काम गर्यो नभए सबैले बजेट चपायो अनि बेला बेलामा म्याद थपायो

अलि अघि कानुन कार्यान्वयन गराउने जिम्मा पाएका मन्त्रीले कारबाही गरेर बिगोसमेत भराउने कुरा गरे पनि भौतिक निर्माण मन्त्रीले काम पूरा नगरे पनि केही छैन भनेकोले ठेकेदारहरु डराउने कुरै आएन। हुन त ठेकेदारहरुलाई कसैको डर नभएको पनि माथिसम्म भर भएकोले नै हो। आफूसँग सम्बन्धित मन्त्रीको साथ पाएर नै उनीहरुले सबैलाई माथ गर्न सकेका हुन् रे भन्ने हल्ला पनि सुनिन्छ

देशका कार्यकारी प्रमुख, तिनका मन्त्रीहरु, सचिवहरु, आयोजनाका निर्णायक प्रशासकहरु, माथिदेखि तलसम्मका प्राविधिकहरु, बजेट निकासा,खर्च र फाँटवारी तयार गर्ने माथिदेखि तलसम्मका कर्मचारीहरु, साइटमा काम गर्ने कर्मचारीहरु, सबैतिर मेलोमेसो मिलाउने र कारबाही नहुने कुरामा ग्यारेन्टी दिलाउने अनि विरोध गर्नेहरुको मुख सिलाउने विचौलियाहरु, राष्ट्रियदेखि स्थानीय स्तरसम्मका डन गुण्डा आदि जस्ता स्वयम सेवकहरु, नेता कार्यकर्ता र भातृ संगठनका सहयोगीहरु आदिआदिको दृश्य अदृश्य ऐच्छिक वा बाध्यात्मक सहयोगले गर्दा पनि यस्ता महत्वपूर्ण ठेक्काहरु समयमा नसकिएकोमा बिचरा ठेकेदारहरुले के नै गर्न सक्छन् र!

उनीहरुले त भनेकै मितिमा सक्छु भनेर ठेक्का कबुल गरेकै र सकाउन अघि सरेकै हुन्। अब गर्न खोज्दा खोज्दै नसकिए पछि कसको के लाग्छ र।

देशको बजेट धेरै खर्च होला र यसले जनताको चित्तमा नराम्रोसित छोला भन्ने सोचाइले गर्दा जाने सम्म र आफ्नो मनले मानेसम्म अनि सबैलाई पेलेरै भएपनि काम गर्न सकिन्छ भनेर ठानेसम्म घटी रेटमा टेन्डर हाल्नु परिहाल्यो।

त्यति गरेर टेन्डर पारेपछि र सबै प्रतिस्पर्धीहरुलाई हराएर बाजी मारेपछि ठेकेदारबाट काजी भएर सबै पाजीहरुलाई शक्ति केन्द्रको डर देखाएर तर्साएर पेस्की हात पारेपछि बल्ल कबुल अनुसार होइन कि आफ्नो खुसीमा काम गर्ने वातावरण तयार हुन्छ।

देशको कार्यकारी प्रमुखदेखि तल्लो तहसम्मको लाई हात लिएपछि र दिनु पर्नेलाई चित्त बुझ्ने गरी दिए पछि बाँकी सबै आफ्नै भइहाल्यो। अनि त मुड चल्यो काम गर्यो नभए सबैले बजेट चपायो अनि बेला बेलामा म्याद थपायो ।

अलिअलि खन्ने खोस्रने चिन्ह लगाउने गरेपछि सर्वसाधारणमा काम हुने भयो भनेर आशा जगाउने र विरोध गर्नेहरुलाई टाढा भगाउने बाटो खुलिहाल्यो। अनि त के छ र। यता हात हाल्यो उता हात हाल्यो, विभिन्न कदम चाल्यो र काम पाए जति सबै आयोजनाको म्याद थपाउन थाल्यो।

घट्न मिल्नेसम्म घटेर लिएको टेन्डरमा धेरै खट्न र धेरै नाफा हुने गरी डट्न नसकिने भएपनि म्याद नथपाई त्यहाँबाट हट्न पनि भएन। म्याद थपको व्यवस्थाले गर्दा बर्षौंदेखि ज्यादै महत्वपूर्ण आयोजनाहरु अलपत्र अवस्थामा भएपनि ठेकेदार र नेताहरुलाई सत्र परेको छ। ठेकेदारहरुकै कृपाले गर्दा जनताले धेरै लामो समयसम्म ज्यान माया मारेर हिलो धुलो अप्ठ्यारो खाल्डा खुल्डी आदिको एकै पटक अनुभव गर्न पाएका छन्।

ठूला ठूला पुलहरु कतै एक दुइटा पिलर ठड्याएर वर्षौंसम्म राखिएको, कतै बनाइ सकेपछि भाँच्चिएको, हावाले उडाएको जस्ता अद्भुत दृश्यहरु देख्न पाएका र यसैबाट ठेकेदारदेखि नेतासम्मले मजाले लाए खाएका छन्। कतिपय जलविद्युत आयोजनाहरु पनि नेता र ठेकेदारहरुको अपार मित्रताले गर्दा र यो वर्ष हुन्छ अर्को वर्ष हुन्छ भनेर भर पर्दा पर्दा समय नाघेर निकै ढिला हुँदापनि पूरा हुने छाँटकाँट देखिँंदैन।

मेलम्ची खानेपानी आयोजना त ठेकेदारको दयाले दुइ पुस्ता सकिन लाग्दा र नेताहरु मन्त्री हुनासाथ पूरा गर्ने वचनसहित जाग्दापनि अझ अर्को पुस्तामा पनि के कसो हो थाहा छैन। यसको मतलव ठूला नेताहरु र ठेकेदारले प्रशस्त समय लिएर र ज्यादै ध्यान दिएर अति बलियो आयोजना बनाउने भए भनेर जनता चाहिँ मख्ख परेका छन्।

कोही आफूलाई सर्वहारा वर्गको ठूलो नेता ठान्ने र आफूलाई जनताको हितकारी मान्ने नेता ठूला ठेकेदारको महलमा सपरिवार निशुल्क बस्ने, कोही ठेक्का मिलाइ दिए बापत पार्टी र आफ्नो लागि ठूलै हिस्सा दिनुपर्छ भनेर मुठ्ठी कस्ने, कोही नेता र ठूला कर्मचारीहरु ठेक्का सम्बन्धी कागजादमा दस्तखत गर्नु अघिनै आफ्नो कमीसनको लागि घुँडा धस्ने र सम्बन्धित ब्यक्तिहरु, कर्मचारीहरु, कार्यकर्ताहरु, स्थानीय अधिकार प्राप्तहरु, सुरक्षाकर्मीहरु, चुल्ठे मुन्दे्र आदिआदिहरु पनि आ–आफ्नो गक्ष अनुसारको हिस्साको लागि चिल्लो घस्ने गर्छन्।

यसो गरेर सबैलाई भाग लगाउँदै माग पूरा गर्दै जाँदा बीस पच्चीस प्रतिशत बजेट कामको लागि बाँकी रहन सक्ने देखिन्छ। त्यसबाट काम फत्ते गरेर बुझाउँदा ठेकेदारलाई हत्ते नै परिसकेको हुन्छ। यसरी तयार भएको आयोजना त्यति सारै काम लाग्ने खालको नहुन सक्ने हुनाले यसलाई आयोजना होइन गयोजना नाम दिएमा सान्र्दिर्भक हुन सक्ला कि भन्नेहरु पनि नभएका होइनन्।

त्यहीभएर पिच गरिएको बाटो एक हप्तामा उप्किन सुरु हूने, एक महिनामा खाल्डा खुल्डी देखिने, तीन चार महिनामा ठूलाठूला भ्वाङ परेर विकासे स्वाङ मात्रै भएको ठहरिने, छ सात महिनापछि सुरुकै अवस्थामा पुग्ने र एक वर्षमा फेरि मर्मत हैन कि निर्माणनै गर्नुपर्ने र यसले सबैको निद्रा हर्ने अवस्था देखिन्छ ।

ठेक्कादिने, ठेक्का लिने, बजेट निकासा गर्ने,काम गराउने,जाँचपास गर्ने, फाँटबारी स्वीकृत गर्ने, भुक्तानी दिने, राजनैतिक संरक्षण दिने र तहतहमा आ–आफ्नो हिस्सा लिनेहरु सबै मिलेर यो किस्सा नै बन्द गरिदिन्छन्। जिम्मेवारी बोध, लाज, शरम, घिन, नैतिकता, जवाफदेहिता, इज्जत, प्रतिष्ठा आदि सबैलाई नै कमिसनले पुर्ने र फेरि अर्को आयोजना कुर्ने गरेको सबैलाई राम्ररी थाहा भएकोले अनि संधै भरि यसरी नै देश समृद्धितर्फ जोड जोडले अगाडि गएकोले पनि जनतालाई अपार खुसी लागेको छ।

यही परम्परालाई कायम राख्दै गएमा देशले नयाँ नयाँ मोडलको विकास चाख्दै अगाडि बढ्न धेरै समय कुर्नु पर्दैन। त्यसै गरी पूर्व पश्चिम रेल, उत्तर दक्षिण रेल, मोनो रेल, जलमार्ग, कुन्नि कति हजार मेगावाट बिद्युत उत्पादन, स्मार्ट सिटी, तेल ग्यासको पाइपलाइन आदिआदि त यही आर्थिक वर्षभित्र पूरा भएर सरकार प्रमुखको कुरा यथार्थमा परिणत हुने निश्चित तथा पक्का भएकोले अब यो सरकारलाई दुई चार दशकसम्म कसैले धक्का दिन सक्ने छैन।

आफूले कबुल गरेको र समयमै पूरा गर्छु भनेर अघि सरेको काम नगर्ने ठेकेदारलाई कानुनी कारबाही गर्न निजहरुको खोजीगर्दा त नामै लिन नसकिने निकै ठूला नेताहरु ठेकेदारको गोजिमा भएको पत्ता लाग्दा एक पटक देशको सत्ता पनि हल्लिन खोज्यो रे भन्ने पनि सुनियो। तर यो त असल जनताले पत्याउने कुरै आएन र जनताले राम्ररी थाहा पनि पाएनन्।

ठूला, जिम्मेवार, ठूलाठूला आयोजनाको जिम्मेवारी लिने ठेकेदारको त्यही तहका ठूला नेता, ठूला मन्त्री, ठूला प्रशासक, ठूला डन, ठूला सुरक्षाकर्मी, ठूला पत्रकार आदिआदिसित संगत, आउ जाउ, उठ बस र मित्रता हुनु सामान्य कुरा नै हो।

मित्रता गर्दा आफ्नो स्तर मिल्ने सँगनै गर्नु पर्छ नत्र आफ्नो स्तरबाट झर्नुपर्छ भन्ने त नीतिले नै बताएको हुनाले जान्ने मान्छेले त्यतातिर बाटो तताएको देखिन्छ। मित्रता भएपछि एक अर्कालाई परेको बेलामा सहयोग गर्नृु पनि मित्रको जिम्मेवारी भित्रै पर्ने कुरा हो।मित्र भएर मित्रलाई मद्दत नगर्नु त बिचित्रकै खबर भइहाल्यो।

पैसा कमाएका सबैलाई कडा छानबिनसहित कानुनी कारबाही गरिने हल्ला चलाएर जनताको नजरमा गतिलो मन्त्रीमा परिने प्रयास गरेका एकजना मन्त्रीलाई ठेकेदारले पैसा कमाउनेलाई कारवाही गर्ने हो भने त पहिले नेताहरुबाटै सुरु गर्नु पर्ने सल्लाह दिए रे भन्ने पनि हल्ला चल्यो र कारबाही गर्छु भनेर कराउने चाहिँ नराम्रो सित गल्यो, उनको योजना त्यसै ढल्यो र ठेकेदारको आम्दानी साबिक अनुसार फल्यो अनि खाइपाई आएका नेताहरुको भाग्य पनि साबिक अनुसार नै बल्यो भन्ने सुन्दा जनता हर्षित भए। एकजना ठूला मान्छेले त कुरै नबुझी सिंघम नहुनु र त्यसै आफ्ना नजिककालाई नछुनु भन्ने सुझाव नै दिए रे भन्ने बजारे हल्ला जनताले ज्यान जाला पत्याएनन्। आफूले भोट दिएर जिताएका नेताले विकास निर्माणको नाममा नोट कमाएको देख्दा र सुन्दा जनतालाई चोट पर्ने कुरो पनि आएन।

हुन त ठेकेदारहरुलाई कसैको डर नभएको पनि माथिसम्म भर भएकोले नै हो। आफूसँग सम्बन्धित मन्त्रीको साथ पाएर नै उनीहरुले सबैलाई माथ गर्न सकेका हुन् रे भन्ने हल्ला पनि सुनिन्छ

अहिले अधिकांश ठूलाठेकेदार पार्टी र संसदमा पुगिसकेका छन्। नीति निर्माणतह, कार्यान्वयन तह र राष्ट्रिय स्तरमै निर्णयलाई प्रभावित पार्न अनि त्यसबाट आफ्नो अनुकूल नियम कानुन झार्न र विकास आयोजना पूरा गर्नु पर्ने म्याद थप्दै आरामले तर् मार्न सक्ने हैसियतमा आफ्ना प्रतिनिधि पुगेपछि सबैलाई फाइदा हुने नै भयो। संघीय तह, प्रादेशिक तह, स्थानीय तह र अझ सबैभन्दा तल्लोतहसम्म पनि नीति निर्माण र कार्यान्वयन गर्ने अधिकार प्राप्त धेरै भाग्यमानी ठेकेदारहरु विराजमान छन्।

यिनीहरुले आफ्नो पक्षमा निर्णय किन्न सक्ने, राजनैतिक पहुँच नभएका राम्रो काम गर्ने ठेकेदारबाट कुनै पनि टेन्डर छिन्न सक्ने, बाधा विरोध र अड्चन पार्नेलाई राजनैतिक शक्ति लगाएर पिन्न सक्ने, आफूलाई फाइदा दिन सक्ने माथिल्लो तहका नेताको आन्द्राभुँडी केलाएर चिन्न सक्ने हुनाले यिनीहरुको काम गर्ने तरिका अरुभन्दा भिन्न भएको देखिन्छ।

नीति निर्माणतहमा आफू प्रत्यक्ष रुपमा नपुगे पनि उच्च राजनैतिक नेतृत्व र उनीहरुका सबै खाले सहयोगीलाई घर जग्गा, अस्थायी स्थायीबास स्थान, चन्दा सहयोग, मुनाफाबाट हिस्सा, विदेश भ्रमणको व्यवस्था, सुरा सुन्दरीको व्यवस्था, गाडी उपहार, छोरा छोरीको पढाइमा सहयोग, विवाह व्रतबन्धमा सहयोग आदिमा यथेष्ट योगदान पुर्याएपछि बाहिर अति कडा कुरा गर्ने नेतालाई पनि ठेकेदारको सेवामा चौबिसै घण्टा खडा हुन सक्ने बनाएर नेताहरुको सबै आवश्यकताको घडा भरि दिने ब्यवस्था भएपछि त्यस्ता नेताहरुको भोटरको नाताले जनतालाई आनन्द लाग्नु स्वाभावि कै हो।

यति भएपछि समयमा काम नगर्ने, जति अनियमितता गरे पनि कानुनी कारबाहीमा नपर्ने र यिनीहरु माथि रिस उठ्नेहरुले जतिनै कोसिस गरे पनि माखो नमर्ने अवस्था रहेको हो कि भन्ने अबुझहरुको अनुमान छ। यति भएपछि कानुनी शासन, भ्रष्टाचार मुक्त ब्यवस्था, सुशासन, आर्थिक उन्नति, विकास तथा समृद्धि आदि त चुड्कीको भरमा गरिन्छ भनेर छिन् छिनमा मुड्की उचाल्ने ठूलाठूला नेताहरुको सपना त जनताले कल्पना गरेको र नेताहरुले भ्रम छरेको समय अगावै पूरा हुने निश्चित छ। नेताहरुलाई आवश्यक सबैथोक पूरा गरिदिएर औंलामा नचाउने, विभिन्न सहयोगद्वारा नेताहरुको इजजत बचाउने र ठूलाठूला आयोजना तथा परियोजनालाई ठाडै पचाउने ठेकेदार भएपछि देशको उन्नति प्रगति हुन धेरै समय लाग्ने छैन।

विकास निर्माण कार्यहरुमा योगदान दिने र सारा जनताको आशीर्वाद लिने यस्ता नेता र ठेकेदारप्रति देश विदेशमा रहेका जनता कृतज्ञ छन्। नेता र ठेकेदारको संयुक्त योगदानलाई मान्नै पर्छ र यसैबाट हामी छिटैनै माथि पुग्छौं भनेर जान्नै पर्छ अनि सबै नेताहरुले यिनीहरुलाई छिन्छिन्मा सलाम हान्नै पर्छ। यसैले सबै ठूला र नामी ठेकेदारको योगदानको लागि सबैले उहाँहरुलाई मन भित्रैदेखि धन्यवाद दिनै पर्छ अनि उनीहरुको कामलाई विकास निर्माण कार्यमा वरिष्ठ देखि कनिष्टसम्म नेताहरुको मिलेमतोमा भइरहेको ठेकेदारी योगदानको रुपमा लिनै पर्छ।

 

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *