अक्सफोर्डको भ्याक्सिन ७३ दिनमा आउने रिपोर्टबारे सिरम इन्स्टिच्युटले प्रस्ट पार्यो
काठमाडौं। अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको कोरोनाभाइरसको भ्याक्सिन ७३ दिनमा बजारमा आउने दावीसहित प्रकाशित समाचारबारे यसको उत्पादन गर्ने कम्पनी सिरम इन्स्टिच्युटले प्रस्ट पारेको छ । भारतको पुणेस्थित सिरम इन्स्टिच्युटले अक्सफोर्डको भ्याक्सिन उत्पादन गर्नको लागि साझेदारी गरेको छ र उसलाई भारत सरकारले पनि भ्याक्स्नि उत्पादन गर्न अनुमति दिइसकेको छ । सिरम इन्स्टिच्युट उत्पादन परिमाणको आधारमा विश्वकै सबैभन्दा ठूो भ्याक्सिन उत्पादक हो ।
सिरमले ७३ दिनमा कम्पनीले भ्याक्सिन बजारमा ल्याउने दावीसहित प्रकाशित समाचारमा सत्यता नभएको जनाएको छ । सिरमले अक्सफोर्डको भ्याक्सिन कोभिशिल्ड नामबाट उत्पादन गर्दैछ । बिजनेस टुडेले आज कम्पनीले भ्याक्सिन २३ दिनमा व्यवसायिक रुपमा बजारमा ल्याउने दावीसहित समाचार प्रकाशित गरेको थियो । रिपोर्टमा भारत सरकारले नेशनल इम्युनाइजेशन प्रोग्राम अन्तर्गत कम्पनीबाट ७८ करोड डोज सुरक्षित गर्न लागेको र भारतीयहरुले यो भ्याक्सिन निःशुल्क पाउने पनि दावी गरिएको थियो ।
‘सेरम इन्स्टिच्युट अफ इण्डिया प्रस्ट पार्दछ कि कोभिशिल्डको उपलब्धताबारे हालै मिडियामा गरिएका दावीहरु पूर्ण रुपमा असत्य र अनुमानको भरमा गरिएका हुन्’ कम्पनीले भनेको छ ‘अहिले सरकारले हामीलाई भ्याक्सिन भविष्यमा उपयोग गर्ने गरी स्टकमा राख्नको लागि मात्रै उत्पादनको अनुमति दिएको छ ।’ कम्पनीले सिरम, एस्ट्राजेनेका र अक्सफोर्ड विश्वविद्यालयको सहकार्यमा विकास भइरहेको कोभिशिल्ड ट्रायलमा सफल भएको प्रमाणित भएपछि र नियामक निकायको स्वीकृति पाइसकेपछि मात्रै व्यवसायिक प्रयोगको लागि उपलब्ध हुने बताएको छ ।
‘अक्सफोर्ड–एस्ट्राजेनेकाको भ्याक्सिनको फेज ३ ट्रायल चलिरहेको छ । भ्याक्सिन सुरक्षित, रोग प्रतिरोधी र प्रभावकारी भएको प्रमाणित भएपछि सिरम इन्स्टिच्युट अफ इण्डियाले यसको उपलब्धताको आधिकारिक घोषणा गर्नेछ’ कम्पनीले भनेको छ । कम्पनीले भारत सरकारले भ्याक्सिनको डोज सुरक्षित गर्न लागेको दावीसहित आएको रिपोर्टबारे भने कुनै प्रतिक्रिया दिएको छैन ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment