एनआरएनएको चुनावलाई दशैँ मान्नेहरुका दिन गए: अध्यक्ष पन्त

बिनेश खनाल
८ भदौ २०७७ १५:४९

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले संस्थागत परिवर्तनका लागि महत्वाकांक्षी निर्णय पारित गरेको जनाएको छ । संघको सांगठनिक पुनर्संरचना तथा विधान संसोधनलगायत दूरगामी महत्व राख्ने प्रस्ताव पारित भएको अध्यक्ष कुमार पन्तले डिसी नेपाललाई बताए ।

शनिवार सम्पन्न आइसीसीको भर्चुअल बैठकले निःशुल्क सदस्यता वितरण, राष्ट्रिय तथा अन्तराष्ट्रिय परिषदको निर्वाचन प्रकृया, विद्युतीय मतदान, महाधिवेशन प्रतिनिधि चयनलगायतका क्षेत्रमा हुने पुनर्संरचना सम्बन्धी प्रस्ताव सर्वसम्मतले पारित गरेको उनले जानकारी दिए । ‘शनिबारको बैठकले एउटा ऐतिहासिक निर्णय पारित गरेको छ । संस्था स्थापना भएको १७ वर्ष भयो । संस्थागत परिवर्तनका लागि अहिले भएको यो निर्णय एकदमै ठूलो हो,’ जर्मनीबाट पन्तले डिसी नेपालसँग भने, ‘हामीलाई विश्वास छ । यो निर्णयसँगै संस्थामा आमूल परिर्वतन हुनेछ । संस्था मर्यादित र दिगो हुनेछ ।’

उनका अनुसार संघद्वारा पारित भएको उक्त प्रस्तावमाथि विशेष अध्ययन गर्न एक समिति बनाइएको छ । समितिले २ हप्ता भित्रमा त्यसको प्रतिवेदन तयार गर्नेछ । प्रस्ताव आगामी विषेश साधारणसभामा प्रस्तुत गरिने उनले बताए ।

बैठकमा बोल्ने अधिकांश सदस्यहरुले निःशुल्क सदस्यता वितरण, एमआइएस सिस्टम, संस्थामा आर्थिक सुधारलगायतका विषयको प्रस्ताव सकारात्मक रहेको बताउँदै समर्थन जनाएका थिए । संघले यसअघि पदाधिकारीहरु, राष्ट्रिय समितिका अध्यक्ष तथा महासचिवको परामर्श र सहमतिमा बनेको प्रस्तावलाई केन्द्रीय समिति (आइसीसी ) बैठकमा प्रस्तुत गरिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *