नेपाली स्कुले किशोरको बेहाल ! कोरोनाको कहरमा ६ महिनादेखि भारतका सडकमा भौंतारिँदै

डिसी नेपाल
१३ भदौ २०७७ १३:४५

काठमाडौं। ९ कक्षामा फेल भएपछि भागेर भारत पुगेका एक नेपाली किशोर अहिे झारखण्डको चक्रधरपुर पुगेका छन् । ९ कक्षामा फेल भएपछि उनलाई उनका पिताले गाली गरेका थिए । त्यही गालीका कारण घर छाडेर हिँडेका उनी नेपालबाट हिमाचल प्रदेश, चंडीगढसहित भारतका विभिन्न ठाउँहरुमा घुम्दै ४ दिन पहिले चक्रधरपुर पुगेका हुन् । चक्रधरपुरमा उनी बेवारिसे जीवन बताउन बाध्य भएको भारतीय अखबार दैनिक जागरणले लेखेको छ । उनको नाम राजकुमार राजपुत लेखिएको छ र उनको नेपालको ठेगाना छिनकेत लेखिएको छ ।

नेपालमा छिनकेत भन्ने एउटा ठाउँ रुकुम जिल्लामा छ तर उनी त्यहीँका हुन् वा उनले बताउने र भारतीय पत्रकारले सुन्ने क्रममा केही गल्ती भएर ठाउँको नाम फरक परेको हो भन्ने प्रस्ट छैन । अखबारले उनको तस्वीर प्रकाशित गरेको छ जसको आधारमा उनको पहिचान हुने अपेक्षा गरिएको छ । राजकुमार विगत ४ दिनदेखि चक्रधरपुरको नेशनल हाइवे ७५ को किनारमा एक ठेलामा जीवन बिताइरहेका छन् । कसैले केही दिए खान पाउने उनी कसैले केही नदिए भोकै बस्न बाध्य छन् । अब राजकुमार घर फर्किन चाहन्छन् ।

राजकुमारले कोरोनाकालका ६ महिना भारतमै बिताए । यो संकटको समयले उनलाई जीवनमा निकै ठूलो पाठ सिकाएको छ । उनले पिताले गाली गरेपछि घरबाट १० हजार चोरेर भागेको बताएका छन् । भारतका विभिन्न इलाकामा घुम्दै हिँडेका राजकुमार ४ महिनाअघि झारखण्डकै चाइबासा पुगेका थिए । राजकुमारका अनुसार चाइबासा चाइल्ड लाइनले उनलाई एक्लै देखेर आफ्नो सुरक्षित संरक्षणमा राखेको थियो ।

तर, ४ महिनापछि जब राजकुमार १८ वर्षका भए उनलाई चाइल्ड लाइनले बाहिर पठायो । आज एक नेपाली किशोर चक्रधरपुरको हाइवेको छेउमा अरुको दयाको आशामा बाँचिरहेका छन् । केही व्यक्तिहरुले उनलाई नेपाल आफ्नो घर पुर्याउन जिल्ला प्रशासनसहित नेपालका प्रधानमन्त्री, परराष्ट्र मन्त्रालय, नेपाल प्रहरी र अन्य नेपाली उच्च सरकारी निकायहरुलाई मेन्सन गर्दै ट्वीट गरेका छन् । राजकुमारले आफ्नो कामप्रति निकै पछुतो भएको र घरको धेरै सम्झना आइरहेको बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *