‘जनप्रतिनिधि जनताको सेवक बन्नुपर्छ’

डिसी नेपाल
२४ भदौ २०७७ २३:०८

पोखरा। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कास्कीका अध्यक्ष एवम् गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाले जनप्रतिनिधि जनताको मालिक नभई सेवक बन्नुपर्ने बताएका छन्। पोखरा महानगरपालिका वडा नं १७ घारीपाटनस्थित म्यूजियम मार्ग टोलसुधार समितिद्धारा बुधबार पोखरामा आयोजित विकास निर्माणमा जनप्रतिनिधिको भूमिका विषयक छलफल कार्यक्रममा उनले जनप्रतिनिधि चुनावी घोषणापत्रका आधारमा जनसेवामा जुट्नुपर्ने औँल्याए।

खानेपानी जनताको पहिलो नैसर्गिक अधिकार भएको बताउँदै उनले त्यसका लागि प्रदेश सरकारले दुई वर्षभित्र प्रत्येक घरमा धारा पु¥याउने लक्ष्यसाथ एक घर एक धारा अभियान सञ्चालन गरेको जानकारी दिए। अध्यक्ष थापाले म्यूजियम मार्गको खानेपानी सुधारका लागि निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममार्फत रु दश लाख सहयोग गरिने प्रतिबद्धता व्यक्त गरे। उनले क्रिरियापुत्री भवन निर्माणका लागि आवश्यक सहयोग गरिने वचनबद्धता पनि व्यक्त गरे।

पोखरा महानगरपालिका कार्यपालिका सदस्य राधिका शाही योगी, नेकपा पोखरा १७ का अध्यक्ष सुभाष ढुङ्गाना र नेपाली कांग्रेसका नेता नारायण श्रेष्ठले विकास निर्माणमा राजनीतिभन्दा माथि उठेर जनताको सेवामा जुट्नुको विकल्प नभएको बताए।

टोल सुधार समितिका अध्यक्ष हरि बाँस्तोलाले २०५२ सालमा विस्तार भएको दुई इन्चीको पाइपबाट ६९ धारा जडान भएको जानकारी दिंँदै सो मार्गमा चार इञ्चीको पाइप विस्तार गरिने बताए। लामो समयदेखि खानेपानीबाट वञ्चित यस क्षेत्रका बासिन्दालाई मार्गका पूर्व र पश्चिमतर्फ ६–६ इञ्चको पाइप विस्तार भइसकेको हुँदा आगामी दिनमा खानेपानीको सुविधा पुग्ने विश्वास समितिका सचिव भगवान श्रेष्ठले व्यक्त गरे। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *