कोरोना भाइरसबाट ९० हजार ७६७ नेपाली संक्रमित, ५७९ जनाको मृत्यु, ७१ हजार ७१७ जना संक्रमणमुक्त

डिसी नेपाल
२८ भदौ २०७७ ११:४९

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुने नेपालीको संख्या ९० हजार नाघेको छ। शनिबार साँझसम्म नेपालसहित विभिन्न देशहरुमा ९० हजार ७ सय ६७ जना नेपालीमा कोरोनाको संक्रमण पुष्टि भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)का स्वास्थ्य समिति संयोजक डा. संजीव सापकोटाले डिसी नेपाललाई जानकारी दिए।

उनका अनुसार हालसम्म विश्वका ४० देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् । हालसम्म नेपाल बाहेक विदेशमा मात्र ३७ हजार ६ सय ४७ जनामा कोरोना संक्रमण देखिएको छ । तीमध्ये ३४ हजार १ सय ९३ जना कोरोना संक्रमणबाट मुक्त भएको समितिको तथ्याङकले देखाउँछ।

संयोजक सापकोटाका अनुसार यो साता स्पेन, पोल्याण्ड, भारत, कतार, र साउदी अरब लगायतका देशमा कोरोना संक्रमणदर सामान्य रुपमा वृद्धि भएको छ ।

यस्तै शनिबारसम्म नेपालमा मात्रै ५३ हजार १ सय २० जना कोरोना भाइरसबाट संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। संक्रमितमध्ये ३७ हजार ५ सय २४ जना संक्रमणमुक्त भएका छन् । नेपालमा कोरोना मुक्त हुनेको संख्या औसतमा ७०.६ प्रतिशत रहेको छ।

सापकोटाका अनुसार विश्वभर ९० हजार ७ सय ६७ जनामा नेपालीमा संक्रमण पुष्टि भएकोमा तीमध्ये ७१ हजार ७ सय १७ जनाले स्वास्थ्य लाभ गरिसकेका छन् । नेपालसहित कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या औसत ७८.७ प्रतिशत रहेको छ ।

५७९ नेपालीको मृत्यु

हालसम्म कोरोनाको संक्रमणबाट ज्यान गुमाउने नेपालीको संख्या ५७९ पुगेको एनआरएनए स्वास्थ्य समितिले जनाएको छ । समितिका अनुसार शनिवार साँझसम्म नेपालबाहिर विभिन्न १६ देशमा संक्रमणका कारण मृत्यु भएका नेपालीको संख्या २ सय ४३ पुगेको छ । नेपालबाहिर विभिन्न १६ देशमा कोरोनाको कारण नेपालीले ज्यान गुमाएका छन्।

कोरोनाको संक्रमणबाट बेलायत,अमेरिका, यूएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड, स्वीडेन, भारत, दक्षिण अफ्रिकालगायत १६ देशमा नेपालीहरुको ज्यान गएको हो।

त्यस्तै शनिबार साँझसम्म नेपालमा ३ सय ३३६ जनाको कोरोनाको कारण ज्यान गएको छ । योसँगै विश्वभर कोरोनाको संक्रमणबाट ज्यान गुमाउने नेपालीको संख्या ५७९ पुगेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *