अस्ट्रेलियामा विशाल ह्वेल समुद्रबाट बाटो बिराएर नदीमा छिरेपछि…

डिसी नेपाल
३० भदौ २०७७ ७:०५

बीबीसी। एउटा ठूलो ह्वेल समुद्रबाट बाटो बिराउँदै धेरै गोही भएको नदीमा पसेर ३० किलोमिटर टाढा पुगेको अस्ट्रेलियाका अधिकारीहरूले बताएका छन्।

त्यो ह्वेल समूहमा बर्सेनि हुने बसाइँसराइमा यात्रा गर्दै गरेको र कुनै स्थानमा गलत दिशामा मोडिएको हुनसक्ने बताइएको छ। बाटो बिर्सेकामध्ये दुईवटा ह्वेल समुद्रमा फर्किएका र कम्तीमा एउटा अझै नदीमै रहेको बताइएको छ।

अस्ट्रेलियामा ह्वेल बाटो बिर्सेर नदीबाट यति भित्र पुगेको यो पहिलो घटना हो। तर ५३ फिट लामो भएकाले उक्त ह्वेललाई गोहीले हानि पुर्‍याउने सम्भावना कम छ।

ह्वेल फर्किन नसकेमा भने अप्ठ्यारो पर्न सक्ने अधिकारीहरूले बताएका छन्। अस्ट्रेलियाको सबैभन्दा ठूलो निकुञ्ज काकाडु न्याश्नल पार्कको इस्ट एलिगेटर रिभर नामक नदीमा डुङ्गाविहार गरिरहेका केही यात्रीले ह्वेल देखेका थिए।

स्थानीय बासिन्दाले नदीको घुमाउरो बाटोमा ह्वेल पौडिरहेको देखेर रमाइलो मानेका थिए। “यो यस्तो घटना हो जुन यसअघि भएको जानकारी छैन। यो एकदमै अनौठो हो,” नोर्दन टेरिटरी प्रान्तका समुद्रसम्बन्धी वैज्ञानिक क्यारोल पाल्मरले भनिन्।

नदीको पानी धमिलो भएकाले नदीमा एकभन्दा बढी ह्वेल छ कि छैन भनेर पत्ता लगाउन सहज नभएको उनले बताइन्। पाल्मरले विज्ञहरू कसरी गलत दिशामा मोडिएर नदीमा ह्लेल पस्यो भन्ने विषयमा जानकार नभएको बताइन्।

ती ह्वेलहरू एन्टार्टिकाको दक्षिणतिर गइरहेको र नदीको क्षेत्रमा पसेर बाहिर निस्कने प्रयासमा झन् भित्र आइपुगेको हुनसक्ने उनले बताइन्। एन्टार्टिकाबाट चिसो छलेर बच्चा जन्माउन ह्वेलहरू अस्ट्रेलियातिर आउने र फर्किने गर्छन्।

नदीमा थुप्रै गोहीहरू भए पनि ह्वेलसँग तिनीहरूको द्वन्द्व नहुने अनुमान विज्ञहरूले गरेका छन्। तर पाल्मरका अनुसार यदि ह्वेल नदीमा अड्कियो र किनारमा पुग्यो भने गोहीका लागि सजिलो सिकार बन्न सक्छ।

“किनारामा अड्कियो भने हामीले त्यस्तो ठूलो ह्वेललाई उचालेर सार्न सक्दैनौँ र गोहीले आक्रमण गर्नेछन्,” पाल्मरले भनिन्। अहिलेका लागि ह्वेल फर्किने बाटो खुला राख्न त्यहाँबाट समुद्रसम्म डुङ्गालाई प्रतिबन्ध लगाइएको छ।

ह्वेल आफैँ बाटो पहिल्याएर फर्किने आशा गरिएको छ। तर अहिलेसम्म समुद्रबाट २० किलोमिटर टाढा नदी गहिरो भएको स्थानमा यो बसिरहेको छ। पाल्मरले ठूलो आवाज निकालेर यसलाई धपाउने वा ह्वेलको आवाज निकालेर समुद्रतिर लग्ने प्रयासका बारेमा विचार गरिरहेको बताइन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *