क्रिकेट खेलाडीलाई अभ्यासमा बोलाउने क्यानको तयारी, असोज २८ मा साधारण सभा
काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) को साधारण सभा असोजको २८ गते हुने भएको छ। चितवनमा मंगलबार बसेको बोर्ड बैठकले साधारण सभा असोज २८ गते गर्ने निर्णय गरेको हो। कोरोना महामारीका कारण साधारण सभा भर्चुअल हुने क्यानले जनाएको छ।
यस्तै क्यानले महिला र पुरुष खेलाडीको वार्षिक जीवन बिमा गर्ने निर्णय गरेको छ । जसका लागि कोषाध्यक्ष रोशन सिंहको सयोजकत्वमा तीन सदस्यीय समिति बनाइएको छ। समितिमा सदस्यहरु दुर्गाराज पाठक र छुम्बी लामा रहेका छन्।
खेलाडीको क्लोज क्याम्पका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप)सँग अनुमतिको लागि पहल गर्ने र मंसिर भित्र महिला र पुरुषको प्रधानमन्त्री कप क्रिकेट गर्नका लागि राखेपसँग समन्वय गर्ने निर्णय समेत बैठकले गरेको छ।
बैठकले पूर्व कप्तान पारस खड्काले पाउने भनिएको टोयोटा गाडीका लागि पहल गर्ने समेत जनाएको छ। २०१४ को टी(ट्वान्टी विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई टोयोटाले गाडी दिने बताएको थियो।
राष्ट्रिय टिमका क्रिकेट प्रशिक्षक जगत टमटाले पाउनु पर्ने २०१७–१८ को पारिश्रमिक ए श्रेणी अनुसार उपलब्ध गराउने निर्णय पनि गरेको छ। त्यस्तै सडक दुर्घटनामा घाइते भएका क्रिकेटर ललित भण्डारीको उपचारमा सहयोग गर्ने निर्णय समेत गरेको छ।

No ads found for this position


डिसी नेपाल
Facebook Comment