विराट कोहलीलाई गावस्करको व्यङ्ग्य – ‘लकडाउनमा अनुष्काको बलमा मात्रै प्राक्टिस गरे’

डिसी नेपाल
९ असोज २०७७ ११:५६

काठमाडौं। आइपिएल २०२० को जारी सिजनमा हिजोको दिन रोयल च्यालेन्जर्स बैंगलोरका कप्तान तथा भारतीय राष्ट्रिय टिमका समेत कप्तान रहेका विराट कोहलीको लागि बिर्सन लायक रह्यो । किंग्स ११ पंजाबसँग भएको हिजोको खेलमा बैंगलोर ९७ रनले लज्जास्पद रुपमा पराजित भयो । पंजाबले दिएको विशाल लक्ष्य पच्छ्याएको बैंगलोर लक्ष्यको आधा स्कोर पुर्याउँदा नै अलआउट भयो ।

हिजोको खेलमा बैंगलोरको हारको पछाडि खलनायकको रुपमा बैंगलोरका कप्तान विराट कोहली देखिए । पंजाबका कप्तान लोकेश राहुल ८३ रनमा हुँदा कोहलीले उनको क्याच छाडे र राहुलले जीवनदान पाए । अर्को ओभरमा पनि राहुलको क्याच कोहलीको हातैमा आएको थियो तर उनले यसपटक पनि क्याच समाउन सकेनन् र राहुललाई जीवनदान दिए । दोस्रो पटक ८९ रनको स्कोरमा जीवनदान पाएका राहुल अन्ततः नटआउट खेले र तुफानी ब्याटिङ गर्दै एक्लै १३२ रन बनाए ।

उता ब्याटिङमा पनि कोहलीले निराशाजनक प्रदर्शन गरे । सामान्यतया आफ्नो टिमको लागि ३ नम्बरमा ब्याटिङ गर्ने कोहलीले यो खेलमा ३ नम्बरका विकेटकिपर जोश फिलिपलाई पठाए । फिलिप पनि आउट भएपछि ४ नम्बरमा गएका कोहली आफू पनि १ रनमै आउट भए । विराटको सबैतिर निराशाजनक प्रदर्शन देखेपछि टेलिभिजन लाइभमा कमेन्ट्री गरिरहेका भारतका पूर्वकप्तान सुनील गावस्करले टिभी लाइभमै विराट कोहलीमाथि व्यङग्य गरेका छन् ।

गावस्करले लाइभ कमेन्ट्रीमै भने ‘यिनले लकडाउनमा त बस अनुष्काको बलको मात्रै प्राक्टिस गरेका छन् ।’ सम्भवतः गावस्करले यो प्रतिक्रिया लकडाउनको क्रममा भाइरल भएको एउटा भिडियोप्रति लक्षित गर्दै दिएका थिए । लकडाउनका बेला भाइरल भएको भिडियोमा विराट अनुष्कासँग क्रिकेट खेलिरहेका देखिएका थिए । तर, गावस्करको यो प्रतिक्रियाले फ्यानहरुमा भने अर्कै तरंग ल्याएको छ । फ्यानहरुले गावस्करको प्रतिक्रियालाई अनैतिक भन्दै बीसीसीआइसँग गावस्करलाई कमेन्टेटरबाट हटाउन माग गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *